पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया

पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन। निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन्।

उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन्। अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए।

‘आयोगले लजिष्टिक उपलब्ध गराएन। स्थानीय तहसँग माग्ने भन्यो। तर, पोखरा महानगरले पनि सहयोग गरेन,’ उनले भने, ‘कम्प्युटर र ल्यापटप छैन। काठमाडौंमा महानगरले १० वटा दियो, पोखराले एउटा पनि दिएन। हामीले व्यक्तिगत ल्यापटपबाट काम गरिरहेका छौं। जेनेरेटर नहुँदा केही समय कामै रोकियो।’

राजनीतिक दलहरू पनि एकै पटक मनोनयनमा आउँदा समस्या परेको उनले बताए। ‘धेरै गाह्रो भो। पार्टीहरूले कोअपरेट गरेनन्। ३ बजेपछि सबै हुल बाँधेर आइदिए,’ उनी भन्छन्, ‘सल्लाह गरेरै फरक दिन आउनु भन्नुपर्ने हो। तर, त्यसो हुन सकेन। रातभरl काम गर्दा पनि काम सकिएको छैन।’

आयोगले तोकेको भन्दा बढी कर्मचारी राख्न नपाएका कारण पनि समस्या भइरहेको भट्टराई सुनाउँछन्। उम्मेद्वारहरूबाट विवरण संकलन गरे पनि दस्तावेजीकरण अहिलेसम्म नसकिएको हो। निर्वाचन आयोगकाे असहयोग गरेका कारण मनोनयन प्रक्रियामा समस्या भएको कर्मचारीहरु बताउँछन्।

पोखराको मेयरका लागि २५ र उपमेयरका लागि नाै जनाले उम्मेद्वारी दर्ता गराएका छन्। गण्डकी प्रदेशभरि हालसम्म १२ हजार एक सय ४६ जनाले मनोनयन दर्ता गराइसकेका छन्। अझै केही तथ्यांक बाँकी भएकाले बढ्न सक्ने बताईएको छ। आयोगले दुई दिन मनोनयनको समय तोके पनि सबैजसो दलहरू भोलिपल्ट अन्तिम समयमा मात्रै पुगेका थिए।

प्रकाशित मिति: : 2022-04-26 11:18:00

प्रतिकृया दिनुहोस्