नेकपा (एमाले) जुम्लाले ८ वटै स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ। एमालेले एक नगरपालिकासहित ७ गाउँपालिकाको उम्मेदवारको टुंगो लगाएको हो।
चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा धर्मेन्द्र रोकाया र उपप्रमुखमा मेनका रेग्मीलाई उम्मेदवार बनाइएकाे छ।
त्यस्तै सबै पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/ उपाध्यक्षको टुंगो लगाएको एमालेका जिल्ला सचिव धनकृष्ण पाण्डेले जानकारी दिए।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार एमाले जुम्ला सोमबार मनोनयन दर्ता गराउनेछ।
सचिव पाण्डेकाअनुसार पातारासी गाउँपालिकामा अध्यक्षमा सुकराम रावत र उपाध्यक्षमा खुम्मेनी महताराको नाममा टिकट दिइएको हो। गुठीचौर गाउँपालिकामा झनमाया जैसी अध्यक्ष र प्रेमबहादुर बढा उपाध्यक्षको उम्मेदवार बनेका छन्।
त्यस्तै, तातोपानीकाे अध्यक्षमा सुरतबहादुर शाही र उपाध्यक्षमा ज्वाला उपाध्याय, तिलामा रेशमबहादुर शाही अध्यक्ष र जुनमाया बोहोरा उपाध्यक्षको उम्मेदवार बनाएको एमाले जुम्लाले जनाएको छ।
हिमाकाे अध्यक्षमा जयबहादुर खत्री र उपाध्यक्षमा भागरथी शाही, सिंजामा सुमन आचार्य अध्यक्ष र कल्पना बुढा उपाध्यक्षमा उम्मेदवार बनेका छन्।
त्यस्तै कनका सुन्दरीकाे अध्यक्षमा मानबहादुर रोकाया र उपाध्यक्षमा देविसीता बुढा (रावत) उम्मेदवार बनेको सचिव पाण्डेले जानकारी दिए।
सत्ता गठबन्धनको किचलोका कारण एमाले जुम्लाले उम्मेदवारको टुंगो लागे पनि सार्वजनिक गरेको थिएन।