नेकपा एमालेका झापा जिल्ला अध्यक्ष दिपक कार्कीले सत्ता गठबन्धनले विप्लवको कारण देखाउँदै निर्वाचन पछि धकेल्ने प्रयास गरिरहेकाे आरोप लगाएका छन्।
एमालेले मेचीनगर-६ मा शनिबार आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै कार्कीले गठबन्धनले एमालेसँग डराएर विप्लवको नामबाट निर्वाचन पछि धकेल्न खाेजेको आरोप लगाएका हुन्।
उनले निर्वाचनको समयमा गरिएको गठबन्धन उनीहरुको रहर नभएर बाध्यता भएको दाबी गरे। ‘खुसी नेपाली समृद्ध नेपाल’ को अभियानमा लागेको एमालेको कामप्रति सबै खुसी भएको देखेर सत्ता गठबन्धन डराएको उनको आरोप छ।
कार्यक्रममा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले यस पटक स्थानीयदेखि केन्द्रसम्म सबैतिर एमालेकाे जित निश्चित रहेको दाबीसमेत गरे।
जनताको हितमा काम गर्ने पार्टी भनेको एमाले रहेको भन्दै बुढाथोकीले अधुरा काम पनि एमालेले नै पुरा गर्ने बताए।
कार्यक्रममा एमाले मेचीनगर नगरपालिका वडा नम्बर-६ को वडा कमिटीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीका उम्मेदवारहरुको घोषणा समेत गरेको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर-६ को वडा अध्यक्षको उम्मेदवारमा सञ्चार उद्यमी तथा समाजसेवी बालकृष्ण थापा रहेका छन् भने सदस्यमा ध्रुवकुमार राई र भगिन्द्र सुब्बा रहेका छन्।
त्यस्तै महिलातर्फ खुल्ला सदस्यमा अन्जु थापा र दलित महिला सदस्यमा सीमा रसाइलीलाई वडाबाट सर्वसम्मत रुपमा उम्मेदवार बनाउने गरी नगरकमिटीमा सिफारिस गरिएको एमाले मेचीनगर-६ का वडा कमिटी अध्यक्ष प्रितम काफ्लेले बताए।
त्यस्तैगरी मेचीनगर–६ स्थित भानुटोलको प्रचार कार्यालय उद्घाटनका अवसरमा ३१ सदस्यीय अनेमसंघको समेत घोषणा गरिएको थियो।