बुटवलमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

File Photo
File Photo

महिलाहरूले गरेको आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि प्रहरीले शुक्रबार बुटवलमा दुर्व्यवहार गरेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगर निवासी अमृता खत्री टण्डनको रहस्यमय मृत्यु भएपछि महिलाहरूले बिहीबारदेखि इलाका प्रहरी कार्यालय बुटवल घेराउ गर्दै आएका छन्।

प्रहरी कार्यालय घेराउ समाचार संकलन गर्न गएका तीनजना सञ्चारकर्मीमाथि प्रहरीले दुर्व्यवहार गर्दै हातपात गरेका थिए।

इलाका प्रहरी कार्यालय बुटवल अगाडि भइरहेको प्रदर्शनको फोटो खिच्ने क्रममा प्रेस चौतारी नेपाल रुपन्देहीका कोषाध्यक्ष दिनेश श्रेष्ठ, सचिवालय सदस्य डिबी सुस्लिङ र खबरकुरा डटकमका पत्रकार शरण कर्माचार्यमाथि प्रहरीले दुर्व्यवहार गरेको हो।

घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले भुलवश फिल्डमा खटिएका प्रहरीले सञ्चारकर्मीमाथि हातपात गरेको भन्दै दुःख व्यक्त गरे। 'भीडमा रहनुभएका पत्रकारलाई हाम्रा सार्थीहरूले नचिनेर हातपात गर्न पुगेछन्, भुलवश यस्तो हुन गएकोमा म दुःख व्यक्त गर्दछु,' उनले भने।

समाचार संकलनका क्रममा कार्यस्थलमा खटिएका सञ्चारकर्मीहरूमाथि प्रहरीले गरेको दुव्यर्ववहारको घटनाप्रति प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनका अध्यक्ष लक्ष्मण पौडेलले विज्ञप्ति निकाली घटनाको निन्दा गरेका छन्। प्रदर्शनको समाचार संकलन गर्ने क्रममा प्रहरीले गरेको ज्यादती निन्दनीय मात्र नभई कारवाहीयोग्य रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रेस चौतारी रुपन्देहीले विज्ञप्तीमा पत्रकारको सुरक्षा चुनौतीलाई थप जटिल बनाउने यस्तो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दै घटनाको छानबिनको माग गरेको छ। त्यस्तै दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाहीको लागि पनि विज्ञप्तिमा माग गरिएको छ।

संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गरी निर्वाध र सुरक्षितरुपमा पत्रकारिताको अभ्यास गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको चौतारीले ध्यानाकर्षण गराएको छ।

आन्दोलनरत पक्ष र सुरक्षाकर्मी दुवैलाई पत्रकारको भौतिक सुरक्षा र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन पनि प्रेस चौतारी नेपाल रुपन्देहीले ध्यानाकर्षण गराएको छ। 

प्रकाशित मिति: : 2022-04-15 15:11:00

प्रतिकृया दिनुहोस्