‘रुखमा बाँधेर साथीको हत्या गर्यौं, दिल्ली हुँदै सिम्ला छिर्यौं’ (भिडियोसहित)

Breaknlinks
Breaknlinks

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएकाे छ।

महानगरीय अपराध मशाहाखाको टोलीले दासकाे हत्यामा संलग्न ४ जनालाई नेपाल भारत-सिमा क्षेत्रबाट पक्राउ गरी नेपाल ल्याएको हो। पक्राउ परेकाहरूलाई महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे।

कैलालीकाे जानकी–९ घर भएका सुमित साउद, रोनी परियार भनिने दिलिप दास, मनोज भण्डारी र बमबहादुर बोहोरालाई महाशाखाले पक्राउ गरेर सार्वजनिक गरेको हाे।

अर्जुनसंगै लागुऔषध सेवन गरेको र नसा बढ्दै गएपछि रुखमा बाँधेर अर्जुनकाे विभत्स हत्या गरी उनीहरू भारत भागेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ।

लागुऔषधले लठ्ठ भएर आफ्नै साथी दासलाई अमरावती सामुदायिक वनको रुखमा बाँधेर विभत्स हत्यापछि भारत भागेका उनीहरूलाई महाशाखाको टोलीले भारतको पन्जावबाट पक्राउ गरेको हो।

भारतीय प्रहरीको सहयोगमा महाशाखाको टोलीले उनीहरुलाई पन्जापबाट पक्राउ गरेको हो। तर महाशाखाले भने नेपाल-भारत सिमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

दासकाे हत्यापछि भारत भागेका मुख्य अभियुक्त मनोज भण्डारीलगायतका ४ जनालाई पक्राउ गरेको र घटनामा संलग्न केही अझै फरार रहेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए।

प्रहरीका अनुसार भण्डारीको समूहले अर्जुन दासलाई लागुऔषध सेवन गर्न भन्दै जंगलमा लिएर गएका थिए। जंगलमा पुगेपछि उनीहरुले केही समय लागुऔषध सेवन गरे।

लागुऔषध सेवन गर्दै गरेका बेला मोबाइल चोरीको कुरा उठ्यो र दासलाई सबैजना मिलेर दोषी करार गरे। त्यसपछि अर्जुनले नै लगाएको टिसर्ट र बेल्ट खोलेर रुखमा बाँधे, अनि सबैजना मिलेर अर्जुनको हत्या गरे।

प्रहरीका अनुसार हत्यापछि अर्जुनको टाउको एक ठाँउ र शरीर अर्काे ठाँउमा फाले र त्यो दिन उनीहरु त्यहिँ बसे। भोलिपल्ट बिहानै उनीहरु गौरीफन्टा नाका हुँदै भारत भासिए।

अर्जुनकाे हत्याकै विषयमा कैलालीमा आन्दोलन चर्किन थाल्यो। दिनदिनै सडक तातियो। केही दिनपछि हत्याकाे आशंकामा कमल साउद पक्राउ परे। हत्या गरिएका अर्जुन केही समयअघि कमलकै पसलमा काम गर्ने गरेका थिए।

प्रहरीले कमललाई थुनामै राखेका बेला भण्डारी समूहको अडियो बाहिरियाे, ‘हामीले अर्जुनकाे हत्या गरेको भन्दै’। त्यसपछि प्रहरी भण्डारी समूहको पछि लाग्यो। प्रहरीले भण्डारी समूहको संलग्नता थाहा पाउनुअघि नै उनीहरु भारतीय सहरमा छिरिसकेका थिए।

सोही अडियोलाई केलाउँदै महाशाखाको टोलीले अनुसन्धान अघि बढाएको थियो।

अभियुक्तको बयान : रुखमा बाँधेर साथीको हत्या गर्यौं, दिल्ली हुँदै सिम्ला छिर्यौं

अर्जुन दासको हत्या अभियोगमा पक्राउ परेका चारैजनाले आफूहरुले नै हत्या गरेको स्वीकार गरेका छन्। अभियुक्तहरूले बयानमा भनेकाे छन्, ‘रुखमा बाँधेर साथीको हत्या गर्यौं, दिल्ली, मुम्बई हुँदै सिम्ला छिर्यौं।’

पक्राउ परेका मनोज भण्डारीले भने, ‘उसका कारण फोकटमा हामीले कुटाई खानुपर्यो। पहिला हामीले सँगै लागुऔषध सेवन गर्यौं, पछि हामीलाई रिस उठ्यो अनि हत्या गरेका हौं।’

अर्जुनको हत्यापछि त्यो रात त्यही जंगलमै बसेको र भोलिपल्ट बिहानै गौरीफन्टा हुँदै दिल्ली पुगेको भण्डारीले बताएका छन्। केही दिनकाे दिल्ली बसाईपछि रेल चढेर बम्बै पुगेको पनि भण्डारीले बयानमा बताए। बम्बैबाट कोही गोहा गएको र आफूहरु सिम्ला हानिएको उनले बताएका छन्।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महाशाखाले जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाउने तयारी गरेको छ।

गत पुस ३ गते कैलालीकाे अमरावती सामुदायिक वनमा रूखमा बाँधी घाँटी छिनालिएकाे अवस्थामा अर्जुनको शव भेटिएकाे थियाे।

लागुऔषध सेवनगरी आफ्नै साथीको विभत्स हत्या गर्ने गिरोहका मुख्य ४ जनालाई पक्राउ गर्न महाशाखाको टोली लामो समयदेखि सक्रिय थियो। लामो समयको सफल अनुसन्धानपछि महाशाखाले अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो। घटनामा केही अझै फरार रहेको र उनीहरुको पनि खोजीकार्य भइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-15 20:52:00

प्रतिकृया दिनुहोस्