गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनामा सक्रियता बढाएका छन्।
गृहमन्त्रीले मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र विपद् व्यवस्थापन कोष मार्फत निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यलाई गति प्रदान गरेका हुन्।
हालसम्म सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाको लागि ५ करोड ६ लाख २६ हजार २५० रुपैयाँ पठाइसएिको गृहले जानकारी दिएको छ।
गृहका अनुसार पुनर्निर्माणका २१४ र पुनस्र्थापनाका ६२५ जना लाभग्राहीको पहिलो किस्ता वापतको अनुदान र अस्थायी आवासतर्फको पहिलो किस्ता वापत गरी ३ करोड ६३ लाख २६ हजार २५० रुपैयाँ पठाइएको छ।
यस्तै, २८६ लाभग्राहीको अस्थायी आवास निर्माणको लागि १ करोड ४३ लाख रुपैयाँ अनुदान रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको छ। गत चैतको अन्तिम साता बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले थप अनुदान रकम माग तथा वितरण गर्न पनि निर्देशन दिएको छ।
बैठकले सिन्धुपाल्चोकमा कायम गरिएका ९७६ लाभग्राहीको प्रमाणित विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई आग्रह गरेको छ।
हालसम्म जुगल गाउँपालिकाका २०८ र मेलम्ची नगरपालिकाका १४१ गरी कूल ३४९ लाभग्राहीलाई मात्र अस्थायी आवास तर्फ अनुदान प्रदान भएको जनाउँदै प्राधिकरणले भुक्तानी दिन बाँकी लाभग्राहीलाई समेत अनुदान उपलब्ध गराउन भनेको छ।
यस्तै, अनुदान लागत सहभागिताको लागि प्रदेश सरकारले व्यहोर्ने ३० प्रतिशत, महानगरपालिका तथा उपमहानगरपालिकाले व्यहोर्ने २० प्रतिशत, नगरपालिकाले व्यहोर्ने १५ प्रतिशत र गाउँपालिकाले व्यहोर्ने १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइदिन पनि प्राधिकरणले अनुरोध गरेको छ।