नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुग्यो

file photo
file photo

नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ।

नेपाल र बेलीजबीच अप्रिल १ तारिखमा दुबै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूत र स्थायी प्रतिनिधिले सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालसँग दौत्य र कूटनीतिक सम्बन्ध भएका मुुलुकको विस्तारले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि थप फराकिलो भएको उल्लेख गरे।

मन्त्रालयका पछिल्ला गतिविधि र प्रगतिबारेमा जानकारी गराउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी भएको बताए। 
    
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले अप्रिल ८ मा चिनियाँ जनवादी गणतन्त्रको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शुसँग भर्चुअल वार्ता गरेका उनले बताउ। 

सो अवसरमा दुबै पक्षले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा गहन विचार आदानप्रदान गर्नुका साथै दुई देशका संसद्बीच उच्चस्तरीय भ्रमणको आदानप्रदान निरन्तर हुनुपर्नेमा जोड दिएका थिए।

यसैगरी प्रधानमन्त्री देउवाले गत मार्च ३० मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गरेका थिए। 

प्रधानमन्त्री देउवाले बिम्स्टेक सदस्य राष्ट्रले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनजन सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिक रूपमा चाल्नुपर्ने कदमका बारेमा धारणा व्यक्त गरेका थिए। 

भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिम्स्टेक बडापत्र पारित गरेको थियो। नेपालकोतर्फबाट प्रधानमन्त्रीले वडापत्रमा हस्ताक्षर गरेका थिए।

श्रीलङ्काको कोलम्बोमा भएको शिखर सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतको सहभागिता रहेको थियो।

यस्तै परराष्ट्रमन्त्री खड्काको मैत्रीपूर्ण निमन्त्रणमा जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले मार्च २५ देखि २७ तारिखसम्म नेपालको भ्रमण गरेका थिए।

उक्त अवसरमा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध र सहयोगका महत्वपूर्ण पक्षमा छलफल हुनुका साथै आपसी सम्बन्धलाई थप सुमधुर बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानको महत्वमा जोड दिइएको थियो।

प्रकाशित मिति: : 2022-04-13 20:49:00

प्रतिकृया दिनुहोस्