उदयपुरको सदरमुकाम गाईघाटमा रहेको जिल्लाकै पुरानो त्रियुगा नगरपालिकाले लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको धमाधम जग्गाको नाप जाँच गरी रहेको छ।
त्रियुगा नगरपालिकाले चैतको तेस्रो हप्ता सम्म करिब ११ हजार परिवारको जग्गा नाप जाँच गरेको छ। त्रियुगा नगरपालिकाले संकलन गरेको निवेदनको आधारमा उनीहरूको जग्गा नाप सम्पन्न गरेको हो। त्रियुगा नगरपालिकामा दलित भूमिहीन २ हजार ४१ परिवार, भूमिहीन सुकुम्वासी ३ हजार ३ सय ३१ परिवार र अन्य अव्यवस्थित १४ हजार ३ सय ८० गरी १९ हजार ७ सय ५२ परिवार भूमिहीन रहेको आवेदन परेको थियो।
आवेदन परेको मध्ये त्रियुगा नगरपालिकाले १, २, ३, ६, १२ र १३ का वडाहरूमा जग्गाको नाप जाँच सम्पन्न गरेको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए। त्रियुगा नगरपालिकाका ६ वडा वडाहरूको अव्यवस्थित, सुकुम्वासी र दलित भूमिहीन गरी ११ हजार बढी परिवारको जग्गाको लगत लिई सकेकोले उनीहरूलाई राष्ट्रिय भूमि आयोग जिल्ला समितिको समन्वयमा कुनै समय लालपुर्जा दिन सकिने बताए।
केही समय रोकिएको जग्गा नाप जाँचको काम पुनः एक हप्ता अगाडीबाट सुरु गरिएको छ। यस पटक एकै पटक वडा नम्बर १०, ११ र १६ बाट सुरु गरिएको छ। निवेदनको आधारमा हेर्ने हो भने अहिलेसम्म करिब ६० प्रतिशतको जग्गा नाप जाँच भई सकेकोले उनीहरूको लागि राष्ट्रिय भूमि आयोगमा लाल पुर्जा वितरणको लागि सिफारिस गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए।
सरकार परिवर्तनले सरकारै पिछै भूमि आयोगमा आएको परिवर्तनले त्रियुगा नगरपालिकामा जग्गा नाप जाँचको काम ढिलो हुन गएको हो। राष्ट्रिय भूमि आयोग उदयपुर गठन भई सकेकाले काम सकिएकाहरूको प्राविधिक केही काम बाँकी रहेकाले त्यसलाई तुरुन्त सकेर जुनसुकै बेला जग्गा नाप जाँच सम्पन्न भएकाहरूको लागि लाल पुर्जा बनाई वितरणको काम अगाडी बढ्न लागेको नगर प्रमुख चौधरीले बताए।
नगरपालिकाले ३ वर्ष अघि नै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्ने नगरवासीको दीर्घकालीन समाधान गर्ने उद्देश्यले काम गर्दै आएकोले पनि सरकारमा आएको उतार चढावले अलि ढिलो हुन गएको नगर प्रमुख चौधरीको भनाई रहेको छ।
त्रियुगा नगरपालिकाले ३ वर्ष अघि २०७६ सालबाटै ऐलानी तथा अव्यवस्थित जमिनमा बसोबास गर्ने नगरवासी र भूमिहीन सुकुम्वासीलाई व्यवस्थापन गर्न कार्य विधि नै पास गरेर काम गरी रहेको छ,’ नगर प्रमुख चौधरीले भने, ‘त्यसबेलादेखि नै हामीले कार्यालय खोलेरै भूमि व्यवस्थापनको काम थालेको र अब त्यो सबै काम आयोगले गर्नेछ।'
नगरपालिकाका हरेक वडामा अहिले ऐलानी र अव्यवस्थित जमिनको नापजाँच र विवरण संकलन कार्य भइरहेको भन्दै नगर प्रमुख चौधरीले अब छिट्टै पुर्जा वितरणको काम तर्फ लाग्ने जानकारी दिए। त्रियुगा नगरले अव्यवस्थित जमिनको छिट्टै समाधान गर्ने आश्वासन दिँदै उनले वर्षौँ देखि चास भोग गर्दै आएको जमिनको स्वामित्व नगरवासीलाई दिलाउने काममा आफू लागेको बताए।
त्रियुगा नगरपालिका क्षेत्रमा समस्याको रूपमा रहेको ऐलानी जग्गाको छिट्टै समाधान हुने विश्वास लिएको छ। नगर क्षेत्रमा बसोबास गर्ने मध्ये ७० प्रतिशत सर्बसाधाण ऐलानी जग्गामा बसोबास गर्दै आएको छ।