निर्वाचन आयोगले देशभरका स्थानीय सरकारको निर्वाचन वैशाख ३० गते देशभर एकैपटक गर्ने घोषणा गरेकाे छ।
याे घाेषणासँगै एमालेविरुद्ध पाँच दलिय गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा र जनमोर्चा) गरी निर्वाचनमा जाने निर्णय भएकाे छ।
साे निर्णय विरुद्धमा विभिन्न पार्टीमा सक्रिय वडादेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने क्रम देशभर बढेको छ।
देशभर निर्वाचित जनप्रतिनिधि तथा अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने शृङ्खलाको निरन्तरता स्वरुप नुवाकोटमा पनि ठूलै संख्यामा एमाले प्रवेश गर्नेकाे संख्या बढिरहेकाे छ।
बेलकोटगढी नगरपालिका वडा नं. ४ मा राप्रपाका प्रभावशाली नेता जंग बहादुर तमाङ्ग, नेपाली कांग्रेसका स्थानीय प्रभावशाली नेता ठूलोकान्छा तमाङ्ग र विरबहादुर तमाङ्गको नेतृत्वमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा राप्रपा छोडि झण्डै २०० हाराहारी स्थानीय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन्।
यसै क्रममा कांग्रेस नुवाकोटका पूर्वउपसभापति तथा तत्कालीन भद्रुटार गाविसका निर्वाचित अध्यक्ष यमबहादुर थापा र नेपाली कांग्रेस पंचकन्याका नेता तथा कांग्रेस क्षेत्रीय प्रतिनिधि पंचकन्या - १ निवासी भगवान पौडेल आज नेकपा एमाले प्रवेश गरेका छन्।
उनीहरुलाई नेकपा एमाले नुवाकोट जिल्ला कमिटी अध्यक्ष तथा बाग्मति प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बद्रि मैनालीले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।
प्रवेश पश्चात नेता थापाले अब छिट्टै एक विशेष कार्यक्रमबीच हजारौं कांग्रेसी कार्यकर्ता एमालेमा समाहित हुने बताए।
१० वर्षे जनयुद्दको नाममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई छानीछानी हत्या गर्ने माओवादीसँग वर्तमान नेपाली कांग्रेसको नेतृत्व लम्पसार परेकोप्रति नुवाकोटका हजारौं कांग्रेसी कार्यकर्ता असन्तुष्ट रहेकाे र तिनको छहारी अब नेकपा एमाले नै भएको दाबी गर्दै नेता थापाले सम्पूर्ण कांग्रेसी साथीहरूलाई एमालेमा समाहित हुन समेत आग्रह गरेका छन्।
त्यस्तै हिजो चैत २३ गते मात्रै बेलकोटगढि नगरपालिका वडा नं. १३ का कांग्रेसका प्रभावशाली नेता तथा तत्कालीन मदानपुर गाविसका नेपाली कांग्रेसका उपसभापति बमबहादुर तमाङको नेतृत्वमा सिंगो गाउँ नेकपा एमालेमा समाहित भएको थियो।
नवप्रवेशी कांग्रेस तथा माओवादी केन्द्रका नेताहरुलाई नेकपा एमाले बाग्मति प्रदेश कमिटि अध्यक्ष तथा पूर्वमन्त्री केशव राज पाण्डे, बेलकोटगढि नगरपालिका प्रमुख राजेन्द्र रमण खनाल, नेकपा एमाले जिल्ला कमिटी सचिव सुदर्शन नेपाल लगायतले टिका तथा खादा लगाएर एमालेमा स्वागत गरेका थिए।