सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन्।
बुधबार साँझ मलंगवा नगरपालिका- ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो। लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ।
गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न सकेको छैन।
घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। घाइते भारतीय नागरिक भएको आशङ्का गरिएको छ।