नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि वडासम्म नै बैठक र कार्यक्रम सुरु भएका छन्।
शुक्रबार गण्डकी प्रदेशस्तरीय बैठक बसेको भोलिपल्ट शनिबार जिल्लास्तरमा बैठक बस्यो भने आइतबारदेखि पालिका हुँदै वडासम्म बैठक हुँदै छ।
खासगरी गठबन्धनका दलहरूबीचको पारस्पारिक सम्बन्ध विस्तार गर्न र आफ्नो पार्टीको वर्तमान अवस्थाको समीक्षा गर्न दलहरुबीच छलफल भएको हो। कांग्रेसले स्थानीय आवश्यक्ताका आधारमा गठबन्धनका दलहरूबीच चुनावी तालमेल गर्न सक्ने केन्द्रीय समिति बैठकबाट निर्णय गराएको छ। अरु दलहरु पनि अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म लैजाने कसरतमा छन्।
सरकारमा रहेका पालिकास्तरीय दलहरूबीच आगामी स्थानीय निर्वाचनमा मिलेर जानका लागि छलफल गरिएको हो। केन्द्रीय संयन्त्रले दिएको निर्देशन कार्यान्वयन गर्ने सबै पार्टीहरूले प्रदेश र जिल्लाबाट सहमति जनाइसकेका छन्। जिल्लामा कांग्रेस सभापतिको संयोजकत्वमा सत्ता गठबन्धनमा रहेका दलका अध्यक्षहरू सदस्य रहेको जिल्ला संयन्त्र गठन गरिएको छ।
बैठकसँगै जिल्लाभित्र रहेका दलहरुबीच सुमधुर सम्बन्ध कायम गर्न गठबन्धन दलभित्रका जिम्मेवार नेता तथा कार्यकर्ताहरुले एकआपसमा आरोप प्रत्यारोप नगर्न नगराउन आफ्ना दलका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको छ। गण्डकी प्रदेशका अधिकांश जिल्ला यसअघि कांग्रेस र माओवादीबीच बढी प्रतिश्पर्धा हुने ठाउँ हो।
पालिकाको बैठक बसेपछि सोही रिपोर्टका आधारमा सबैजसो जिल्लामा सोमबार जिल्लाको बैठक बस्नेछ। बैठकमा सबै दलका सांगठानिक अवस्थाबारे प्रतिवेदन पेस हुनेछ। त्यसपछि प्रदेशस्तरमा २२ चैतमा बैठक आयोजना गरिएको छ। जिल्लाबाट प्राप्त प्रतिवेदनसहित प्रदेशको अवस्थामा छलफल हुने र एकीकृत प्रतिवेदन केन्द्रमा पठाइने बताइएको छ।