नोबेल अस्पतालका डाक्टर विजयको रहस्यमय मृत्यु, हत्या भएको भन्दै आफन्तद्वारा नाराबाजी (तस्विरहरू)

तस्विर: प्रेम देवान/विराटनगर

माेरङकाे नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा कार्यरत एक चिकित्सक मृत फेला परेका छन्। मृत फेला पर्नेमा सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव रहेका छन्। मृतकका आफन्तहरुले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी सुरु गरेका छन् ।

नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेकाे प्रहरीले जनाएकाे छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठकाअनुसार डेरा बसेको घरको कम्पाउण्डभित्र चिकित्सक मृत फेला परेको जानकारी आउनसाथ अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ। घटनास्थलमा रहेको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको उनले बताए। चिकित्सकको मृत्युको कारण खुल्न बाँकी रहेको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी श्रेष्ठले दिएका छन्।

प्रहरीले भने डेरा बसेको घरको दोस्रो तलाबाट हामफालेर डा. यादवले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ। तर, पुष्टि भने हुन बाँकी छ। यद्यपि घटनाको यकिन गर्न विभिन्न कोणबाट अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार डा. यादव ४ वर्षअघिदेखि नोबेलमा कार्यरत थिए। नोबेलले शुक्रबार मोरङको कटहरीमा आयोजना गरेको स्वास्थ्य शिविर सञ्चालनका लागि उनी पनि पुगेको दाहालले बताए। उनका अनुसार शिविरबाट फर्किएर आफ्नो डेरातर्फ लागेका चिकित्सकलाई मृत अवस्थामा फेला पारिएको जानकारी आएको हो।

दाहालले चिकित्सकको मृत्यु भएको घटनाको अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउनुपर्ने माग अस्पतालको रहेको बताए। 

प्रकाशित मिति: : 2022-04-02 09:55:00

प्रतिकृया दिनुहोस्