सर्वोत्तम टिपिएल : उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय विजयी

सर्वोत्तम टिपिएल २०७८ शुक्रबारदेखि सुरु भएको छ। तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय गोल्डस विजयी भएको छ।

ज्ञानोदयले भैरहवा–११ माथि १७ रनको जित निकालेको हो। टस जितेर ब्याटिङ गर्न उत्रेको ज्ञानोदयका ब्याटसम्यानहरूले १९ दशमलव ६ ओभरमा १ सय २५ रनको योगफल तयार गरेको थियो। 

ज्ञानोदयका भीम सार्कीले ३८ र अमित श्रेष्ठले ३७ रनको योगदान दिए। खेलमा भैरहवाका अमृत गुरुङले ३ तथा योगेन्द्र कार्की र दुर्गेश कुर्मीले समान १–१ विकेट लिएका थिए। 

भैरहवा–११ ले १७ दशमलव ५ ओभरमा १ सय ८ रनमा अलआउट भए। भैरहवाका सोनु तामाङले ३० तथा ओपनर सुशान्त थापाले २५ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन। ज्ञानोदयका जितेन्द्र यादवले ३ तथा प्रतिस जिसीले २ विकेट लिएका थिए। ज्ञानोदयका जितेन्द्र यादव म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए। 

कार्यक्रममा समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले राष्ट्र कै नमुना नगरपालिकामा तिलोत्तमा प्रिमियर लिगको चौथो संस्करणमा सञ्चालन हुनु गौरवको विषय भएको बताए।

क्रिकेट खेलमा नेपालको प्रदर्शन बढाउन र राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा प्रतियोगिताको योगदान रहेको भन्दै यसको निरन्तरता जरुरी रहेको बताए। 

एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गर्दै नगरमा संघ र प्रदेश सरकारको सहयोगमा खेलकुद विकास अघि बढाएको बताए।

प्रकाशित मिति: : 2022-04-01 20:35:00

प्रतिकृया दिनुहोस्