खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राजनैतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै नेपाल निजामती कर्मचारी युनियनले विरोध जनाएको छ।
आसन्न ३० वैशाखमा हुने निर्वाचनलाई प्रभावित पार्ने मनसायका साथ राजनीतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले प्रेस विज्ञाप्तीमार्फत विरोध जनाएको हो।
निर्वाचनलाई सफल बनाउनका लागि आआफ्नो क्षेत्रबाट लागिरहेको र निर्वाचन आयोगले कर्मचारी विवरण माग गरेर अद्यावधिक गरिसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने आसयले नगरपालिकाले राजनैतिक आस्था र विचारको आधारमा रायसल्लाह निवेदन नलिई निरंकुशशैलीमा कर्मचारीको मनोबल खच्किने तरिकाले सरुवा गरेको युनियनको बिहीबार जारी विज्ञाप्तीमा उल्लेख छ।
नेपाल निजामती कर्मचारी युनियनका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका अध्यक्ष दिनेश राईले जारी गरेको विज्ञाप्तीमा कर्मचारीलाई उच्च मनोबल र निर्धक्क काम गर्ने वातावरण बनाई काम लगाउनुपर्नेमा कर्मचारीको मनोबल गिर्नेगरी गरिएको सरुवा तत्काल कार्यान्वयन नगर्न/नगराउन माग गरिएको छ।
नगरपालिकाले १५ चैतमा कर्मचारीको सरुवा गरेको थियो। तर, अधिकांश नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध कर्मचारीको मात्र विभेदपूर्ण सरुवा गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य अनिल आचार्यले बताए।