नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकी र प्रोत्साहन पुरस्कार देवनारायण साहलाई प्रदान गरेको छ।
६७औं स्थापना दिवसको अवसर पारेर आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले पुरस्कार हस्तान्तरण गरेका हुन्।
स्वर्गीय षष्टिका बस्नेतका पिता खड्गबहादुर बस्नेतले छोरीको स्मृतिमा ७ लाखको अक्षय कोष स्थापना गरी २०७३ मा उक्त पुरस्कार स्थापना गरेका थिए। टक्सार म्यागेजिनका प्रधानसम्पादक बुढाथोकीलाई नेपालस्थित कोकाकोला कम्पनिको शेयर विक्री गर्दा सरकारलाई राजश्व छलेको कुरा खोजविन गरी बाहिर सार्वजनिक गर्न सफल भएको भन्दै ५१ हजार ५१ रुपैयाँ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको हो।
त्यसैगरी कान्तिपुर दैनिकका सम्वाददाता साहलाई सूचनाको हक कार्यन्वयनमा भूमिका निर्वाह गरेको भन्दे १५ हजार १५ रुपैयाँ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको पत्रकार महासंघ मोरङका सदस्य तेजन खड्काले जानकारी दिए।
सोही अवसरमा प्रदेश १ का यातायात तथा संचारमन्त्री उपेन्द्र प्रसाद घिमिरेले नेपाल पत्रकार महासंघ मोरङ शाखाको वेवसाइट शुभारम्भ गरेका थिए। कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईंटेल, प्रेस सेन्टर प्रदेश १ का अध्यक्ष विनोद घिमिरे लगायतले पत्रकार महासंघ स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए।
पुरस्कार वितरण समारोह पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालको सभापतित्वमा भएको थियो।
पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसको सन्दर्भ पारेर आजै पत्रकार महासङ्घको मोरङ शाखाले वेब–साइट पनि सुरु गरेको छ। मोरङ शाखाका सचिव नेत्र पी अधिकारीका अनुसार भोलि विराटनगरमा मोरङका सञ्चारकर्मी तथा तिनका परिवारलक्षित स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको छ।