रसुवामा म्यादी प्रहरी छनौटका लागि प्रक्रिया सुरु भएको छ। गत आइतबारदेखि शुक्रबारसम्म दिएका आवेदनबाट म्यादी प्रहरी छनौटका लागि प्रक्रिया सुरु गरिएको हो।
मंगलबारदेखि सदरमुकाम धुन्चेमा म्यादी प्रहरीका लागि छनौटको प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक गणेश सापकोटाले बताए। उनका अनुसार स्थानीय तहको निर्वाचनमा म्यादी बन्नका लागि जिल्लामा ५४४ जनाले आवेदन दिएका छन्। जसमध्ये १३९ जना महिला रहेका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ सय ६३ जना म्यादी प्रहरीका लागि छनौट गरिने सापकोटाले बताए। मंगलबारदेखि स्वास्थ्य, शारीरिक परीक्षण सुरु भएको समेत उनको भनाई रहेको छ। म्यादी बन्नका लागि आवेदन दिएका अधिकांश युवा रहेको उनले बताए।
म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता विधि अपनाइने बताइएको छ। म्यादीका लागि छनौट भएकाहरूलाई तालिम दिएर निर्वाचनका लागि खटाइनेसमेत बताइएको छ।