इटहरीमा बम विस्फोट, दुई जना घाइते 

सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गएराति सुतली बम विस्फोट भएको थियो। दुई जना घाइते भएका छन्। विस्फोट घटना लगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ बम राखेर विस्फोट नगराएको पाइएको हो।

प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीले भने, ‘बम राखेको भन्दा पनि लिएर आउने मान्छेबाट विस्फोट भएको देखिन्छ।’

विस्फोटबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ।

डीआईजी बिसीले विस्फोटको घटनापछि प्रदेश मातहतका सबै प्रहरी युनिटलाई सतर्क रहन निर्देशन दिएका छन्।

‘रातिको घटनाले हिमाल सुरक्षा परिषद्को गतिविधि बढ्यो भन्न त सकिँदैन। किनभने अन्य स्थानमा देखिएको छैन’, डीआईजी बिसीले भने, ‘तर, बढी निगरानी राख्ने र प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी युनिटहरूलाई सतर्क रहन निर्देशन दिएका छौँ।’

गत १५ फागुनमा परिषद्ले पर्चामार्फत सशस्त्र युद्धको घोषणा गरेको थियो। हिन्दु राष्ट्र घोषणा, राजतन्त्र स्थापना, संघीयता खारेजलगायत मुद्दा उठाउँदै युद्धको घोषणा गरेको थियो। घोषणा गरेको ठीक एक महिनामा विस्फोटको घटना भएको हो।

घटनाको अनुसन्धानको क्रममा चन्दा असुल्न विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: : 2022-03-29 10:57:00

प्रतिकृया दिनुहोस्