किन लाग्याे काठमाडौंमा बिहानैदेखि तुवाँलो ?

काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन। उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभरजसो आकाश धुम्म रह्यो। आज बिहानैदेखि तुवाँलो छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ। वायुण्डलको माथिल्लो तहमा भने बादल बनेको छ।

‘धुलोका कणलाई बादलले छोपेर राखेको छ, माथि जान दिएको छैन। बादल लागे पनि वर्षामा परीणत हुन सकेको छैन,’ मौसमविद् भट्टराईले भने, ‘वर्षाका लागि उपयुक्त सिस्टम चाहिन्छ। तत्काल सम्भावना देखिँदैन।’

पानी नपर्दा धुलोका कणहरु ‘ह्युमन वडी’ आसपास प्रदूषण रहेको उनले बताए।  वायुमण्डलमा रहेका धुलाेका कण साेहर्‍न कि त वर्षा हुनुपर्छ कि हुरीबतास चल्नुपर्ने हुन्छ।

उपत्यकामा हाल स्थानीय वायु त छ। तर, पश्चिमी क्षेत्रबाट आउने जलवाष्पयुक्त वायुसँग स्थानीय ‘कन्भेन्सनल प्रभाव’का कारण आकाशमा तुवाँलो लागेको हो। उनका अनुसार जमिन तातिएर स्थानीय वायु माथि चिसिएर बादल बनिने प्रक्रिया कन्भेन्सनल प्रभाव हो।

उनका अनुसार तत्काल पानी पर्ने सम्भावना पनि छैन। ‘आज र भोलि पनि काठमाडौंको मौसममा खासै सुधार हुने देखिँदैन,’ उनले भने।

महाशाखाका हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकिका पहाडी  भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ।

प्रदेश १ का पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति: : 2022-03-29 07:51:00

प्रतिकृया दिनुहोस्