पोखरा महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन्। कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन्।
पोखरा महानगर वडा नम्बर ९ का कांग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाए।
कांग्रेस जनप्रतिनिधिको दलको नेतासमेत रहेका उनले भने, ‘न्यायिक समितिमा समेत कांग्रेसलाई सहभागी गरिएको छैन। त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन।’
न्यायिक सम्मेलन एमालेको चुनावी ‘फण्डा’मात्र भएको आरोप लगाउँदै उनले अगाडि भने, ‘यो कार्यक्रम पहिल्यै हुनुपर्थ्यो।अहिले आएर गरिनु चुनावी फण्डामात्र हो।’
पोखरा महानगरमा कांग्रेसका ११ वडाध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन्। सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ।