अमेरिकामा डेलिगेट भण्डारीको 'बण्ड बिल'मार्फत, बानालाई दुईलाख ५० हजार डलर

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको सामुदायिक संस्था बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका (बाना)ले विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग पाएको छ। अमेरिकामा नेपाली मुलका एक मात्र डेलिगेट डा. ह्यारी भण्डारीले मेरिल्याण्ड संसदमा प्रस्तुत गरेको बाना बण्ड बिलमार्फत् यो सहयोग हात लागेको हो। 

डेलिगेट डा. भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा एक प्रेस विज्ञप्ती जारी गर्दै बानाले ठूलो सहयोग राशी प्राप्त गरेको जानकारी दिएका हुन्। उनका अनुसार  सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फण्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट प्राप्त भएको हो।

बाना बण्ड बिल पारित भएर राज्यबाट एक लाख २५ हजार २०२० मै निकासा भए पनि त्यसका लागि आवश्यक त्यति नै रकमको म्याचिङ फण्ड जुटाउन समय लागेकाले  बण्डमार्फत् रकम पनि खर्च गर्न सकिएको थिएन। आज बाल्टिमोर काउन्टीले चालु खर्चबाटै विशेष व्यवस्था गरेर एक लाख २५ हजार म्याचिङ फण्ड दिएपछि दुई लाख ५० हजार नै निकासाको प्रक्रिया पूरा भएको छ। 

अमेरिकामा भएपछि ढिलोचाँडो हामी पनि त्यही तौरतरिकामा नहिडी सुखै छैन। किनकि, हामी टापूको समुदाय भएर बाँच्न सक्दैनौ, अमेरिकी मूलधारको काइदा कानुनमा हामी समाहित हुनैपर्छ। अब हामीले यो दिशामा जाने गोरेटो बनायौ, यो गोरेटो भएर अघि बढ्दै जाँदा अवश्य पनि हामी राजमार्गमा पुग्नेछौं।
- डेलिगेट डा. ह्यारी भण्डारी,  मेरिल्याण्ड , डिस्ट्रिक्ट ८

यो रकम निकासा हुनु भनेको अमेरिकामा पहिलोपटक कुनै पनि नेपाली सामुदायिक संस्थाले राज्यका तर्फबाट लाखौं डलर बजेट पाएको बताउँदै डेलिगेट डा. भण्डारीले यस ऐेतिहासिक उपलव्धीका लागि सबै नेपालीलाई बाधइ तथा शुभकामना व्यक्त गर्दै  खुशी ब्यक्त गरेका छन्।

मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक मात्र सदस्य भएकाले यो अभियानको प्रारम्भ गर्ने र यसलाई तार्किक निष्कर्षमा पुर्याउँने आधिकारिक व्यक्तिका रूपमा यो सुखद् खबर सार्वजनिक गर्न पाउँदा अत्यन्त खुशी भएको छु। उनले विज्ञप्तीमा अगाडि लेखेका छन्, 'यसबाट हामीले ढिलै भए पनि नेपाली सामुदायिक संस्थालाई अमेरिकाको मूलधारसँग जोड्ने क्रमको सुरूवात गरेका छौं। र, अब हाम्रा संस्थाहरूमा हाम्रो समुदायबाट भन्दा पनि राज्यको लगानी हुनुपर्छ भन्ने भाष्य निर्माण गर्न महत्वपूर्ण सुरूवात गरेका छौं।'

मानिस समुदायसँग जोडिने र समुदाय राज्यसँग जोडिने अमेरिकी तौरतरिकामा नेपाली सुमदाय पनि अभ्यस्त हुनुपर्ने बताउँदै डेलिगेट डा. भण्डारीले अगाडि लेखेका छन्, ' अमेरिकामा भएपछि ढिलोचाँडो हामी पनि त्यही तौरतरिकामा नहिडी सुखै छैन। किनकि, हामी टापूको समुदाय भएर बाँच्न सक्दैनौ, अमेरिकी मूलधारको काइदा कानुनमा हामी समाहित हुनैपर्छ। अब हामीले यो दिशामा जाने गोरेटो बनायौ, यो गोरेटो भएर अघि बढ्दै जाँदा अवश्य पनि हामी राजमार्गमा पुग्नेछौं।'

नेपालीहरूको बाक्लो बसोबास रहेको बाल्टिमोरमा नेपालीहरूको साझा संस्थाका रूपमा २००५ मा बाना स्थापना भएको हो। २०१७ मा यसले दुई लाख ९८ हजारमा सामुदायिक सेवा भवन खरिद गरेको थियो । अहिले त्यही भवनको मर्मत सम्भार तथा स्तरोन्नतिका लागि यो सहयोग प्राप्त भएको हो। बाना बिल बण्डबाट प्राप्त रहक २०२७ सम्म खर्च गर्न सकिने छ। 

डा. ह्यारी भण्डारी २०१९ मा मेरिल्याण्ड डिस्ट्रिक्ट ८ बाट विधायक निर्वाचित भएका हुन्। डेमोक्रेटिक पार्टीबाट विजयी डा. भण्डारी डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य पनि हुन्।  उनको चार वर्षे पहिलो कार्यकाल यही वर्ष सकिदैछ। उनले दोस्रो कार्यकालका लागि पनि उम्मेद्वारी दिइसकेका छन्। डा. भण्डारी अमेरिकामा नेपाली मूलका पहिलो र एक मात्र डेलिगेट हुन्। 

 

प्रकाशित मिति: : 2022-03-25 04:51:00

प्रतिकृया दिनुहोस्