दाङको घोराही–तुलसीपुर चारलेन सडकमा काम गरेका मजदुरहरूले पारिश्रमिक नपाएको बताएका छन्।
घोराही–तुलसीपुरको २८ किलोमिटर चार लेन सडकको ठेक्का लिएको अष्ट भैरव निर्माण सेवा कम्पनीमा काम गरेका ३०० मजदुरले दुई वर्षदेखि ज्याला नपाएको बताएका हुन्। निर्माणको काम रोकेर ठेकेदार भागे पछि मजदुरहरूले ज्यान नपाएको बताएका छन्।
तुलसीपुर–१८ का मजदुर तकमान घर्तीले ठेकेदार सम्पर्कविहीन भएपछि आफूले कामबापत पाउनुपर्ने ज्याला अहिलेसम्म नपाएको सुनाए। दुई वर्षयता उनीहरू ठेकेदार खोज्दै प्रहरी–प्रशासन धाइरहेको भए पसिन समस्या समाधान नभएको उनको भनाई छ। उनले २०७६ सालको पुसदेखि फागुनसम्म काम गरेबापत ४३ हजार ज्याला आफूले अहिलेसम्म नपाएको बताए।
अष्ट भैरव निर्माण सेवा कम्पनीमा चार लेन सडक निर्माणको काम गरेका ३०० बढी मजदुरले २४ हजारदेखि ४५ हजारसम्म ज्याला पाउन बाँकी रहेका बताए। दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुने र पटक–पटक झुलाउँदै आएको पीडित श्रमिकले बताएका छन्। ज्याला नपाएको गुनासो लिएर प्रहरी पुग्दा पनि सुनुवाइ नभएको उनीहरूले बताएका छन्।
गुनासो सुनुवाइ नभएपछि २८ बढी मजदुरले सामूहिक रूपमा ठेकेदार अनुप पाण्डेविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको बकाएका छन्। आफूले काम गरेवाफतको ज्याला पाउनुपर्ने मजदुरको माग छ।
यसअघि, चार लेन सडक निर्माणको जिम्मा लिएको अष्ट भैरव निर्माण कम्पनीका अनुप पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी विभिन्न संघसंस्था र कम्पनी गरी १७ वटा ठगीको उजुरी परेको छ। उनी अहिले प्रहरी हिरासतमा रहेका छन्।
घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पाण्डे ११ दिनअघि पक्राउ परी हाल प्रहरी हिरासतमा छन्।
चार लेन सडक निर्माण गर्नेक्रममा आफ्नो सवारी साधन प्रयोग गरी भाडाबापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ नदिएपछि व्यवसायी बस्नेतले पाण्डेविरुद्ध उजुरी दिएका थिए।