नेकपा (एमाले) प्युठानले सुरु गरेको एक महिने निर्वाचन अभिमुखिकरण तथा प्रशिक्षण अभियान सकिएको छ। फागुन १६ गते सरुमारानी गाउँपालिकाबाट सुरु भएको एक महिने लामो उक्त अभियान शनिबार नौबहिनी गाउँपालिकाको केन्द्र बाहनेमा पुगेर सम्पन्न भएको हो।
जिल्लाका नौ वटै गाउँ र नगरपालिकाहरूमा पार्टी सदस्यस्तरमा प्रशिक्षण गरी सफलताका साथ अभियान सम्पन्न गरिएको पार्टी अध्यक्ष विजय विराज विष्टले जानकारी दिए। उनले पार्टीको पछिल्लो गतिविधिले पार्टी संगठन टोल कमिटी तहसम्म परिचालन र क्रियाशिल भएको बताए।
विष्टले अभियानका क्रममा ठूलो उपलब्धि हासिल गरिएको दाबी गरे। यस अवधिमा महिला, दलित, मुस्लिम, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, सम्पर्क मञ्च, शिक्षक, भूमिहीन सुकुम्बासी, खेलाडी, बुद्धिजीवी, अपांग, कानुन व्यवसायीलगायत १४ वटा जनसंगठनका जिल्लास्तरीय अधिवेशन गरिएको छ।
अभियानमा ४२ सय नेता, कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको समेत एमाले प्युठानले बताएको छ। त्यसमध्ये राष्ट्रिय जनमोर्चाका ३१ सय जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
एमाले प्रवेशको यो लहरले प्युठान जिल्लामा राजनीतिक शक्तिसन्तुलनको वर्तमान र भावी राजनीतिक परिदृश्य छर्लङ्ग गरेको एमाले पोलिट्ब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले बताए।
अभियानका शिलसिलामा एमाले पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य एवं प्यूठान सहइन्चार्ज हरिप्रसाद रिजाल, पार्टी अध्यक्ष विजयिराज विष्ट र पूर्व अध्यक्ष तुल्सीराम शर्मा सहितका नेताहरु गाउँगाउँ पुगेका थिए।
अभियानका क्रममा ५ हजार पार्टी सदस्य, ४ हजार २ सय नवप्रवेशी र प्रदेश कमिटी सदस्यदेखि टोल कमिटी सदस्यसम्मसमेत १० हजार जनालाई निर्वाचन केन्द्रीत अभिमुखीकरण गरिएको छ।