नेकपा (एमाले) राेल्पाले तत्कालीन नेकपा माओवादीद्वारा ग्यास च्याम्बर बनाएर हिटलरी शैलीमा सामूहिक हत्या गरिएका सहिद परिवारलाई सम्मान गरेको छ।
०५५ फागुन २६ गते लुङ्ग्री गाउँपालिकास्थित हार्जङमा स्थानीय बलबहादुर रोकाको घरमा भेला भएका एमाले कार्यकर्ताहरूलाई माओवादी कार्यकर्ताहरूले ढोका थुनेर जिउँदै आगो लगाएका थिए। उक्त नरसंहारमा मारिएका सहिद परिवारलाई एमाले राेल्पाले फागुन २६ लाई कालाे दिनकाे सम्झना गर्दै सम्मान गरेको हो।
माओवादी कार्यकर्ताहरूले झाेसेकाे आगाे खरको छानोमा एकैछिनमा सल्कियो। हल्लिखल्ली भयो। उनीहरू भाग्न खोजे तर ढोका बन्द थियो। घरभित्रबाट भाग्न खोज्दा पनि माओवादी कार्यकर्ताहरूले ताकीताकी गोली हानेर कतिलाई ढोकामै ढालेकाे प्रत्यक्षदर्शी बलबहादुर राेका बताउँछन्।
सहिद परिवार सम्मान नेकपा (एमाले)का केन्द्रीय सदस्य कुमार दसाैदी, ईश्वरी जीएम, जिल्ला अध्यक्ष बालाराम बुढा, उपाध्यक्ष विजय घर्ती, उपसचिव दीपक विष्ट, राेल्पा नगरपालिका अध्यक्ष घनश्याम आचार्य, लुंग्री अध्यक्ष प्रशुराम घर्ती हार्जङमै पुगेका हुन्।
फागुन २६ गतेकाे उक्त घटनामा स्थानीय आठ जनाको हत्या भएकाे थियाे। दश जना घाइते भए र ती जनालाई अपहरण गरिएको थियो। तीमध्ये एकजना अपहरणबाटै भाग्न सफल भएका हुन भने दुई जनालाई चरम यातना दिएर छाडिएको थियो।
‘जलेर घाइते मेरो बुढालाई झ्यालबाट भाग्न खोज्दा गोली हानेर मारे,’ ५७ वर्षीया दिलमता गिरी सुनाउँछिन्, ‘८ जनालाई जिउँदै जलाएर मारेका हुन्। मेरो भाइलाई पनि जलाए। अनुहार कसैको नचिने। मुढा जस्तो थियो लास त।’
स्थानीयहरू त्यो कहालीलाग्दो घटना सम्झेर बेलाबेला झस्किन्छन्। युद्धताका रोल्पाको पूर्वी भेगमा माओवादी कार्यकर्ताहरूको अन्तभन्दा राम्रो प्रभाव थियो। त्यतिबेला माओवादीका स्थानीयले घरको भित्तामा नारा लेखेर जान्थेँ।
अर्कोदिन बिहानै सरकारी सेना गाउँ छिरेर सर्वसाधारणमाथि हातपात गर्नु सामान्य जस्तै थियो। सेनाको क्रूर आतंकबाट जोगिन गाउँलेहरूले नारा मेटाएपछि माओवादी कार्यकर्ताले ‘किन नारा मेटाएको’ भन्दै सबैमाथि कुटपिट गर्थे।
त्योबेला हार्जङवासीले समिति नै बनाएर सरकारी सेनाबाट जोगिन नारा मेटाउने अभियान थाले। ‘हार्जङ हत्याकाण्ड’ को तीन दिनअघिको राति नारा लेख्न रोक्ने स्थानीय र लेख्न आएका माओवादी कार्यकर्ताहरूबीच झडप भएकाे स्थानीय बताउँछन्।
माओवादीले बुबा मनबहादुर गिरिलाई जिउँदै आँगो लगाएर मारेको खबर सुन्दा छोरा मोहन गिरी (३६) १३ वर्षाका थिए। त्यो घटना सम्झिदाँ उनी अहिले पनि डराउँछन्।