एनआरएनएका पूर्व अध्यक्षहरुद्वारा एनसीसी भेलाको आयोजना

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले पछिल्लो समय संघमा देखिएको गम्भीर संकटलाई  मध्ये नजर गर्दै (जुममा) भेला बोलाएका छन्।

मार्च ६, २०२२ आइतबार बोलाइएको उक्त भेला नेपालको समय अनुसार साँझ ५ बजे हुने भएको छ। 

संघमा आएको संकटको अवस्थाका कारण आयोजना गरिने भेलाले संघलाई अगाडि बढाउन ठोस निकास दिने  अध्यक्षहरुको विश्वास छ। 

 पूर्व अध्यक्षहरुको आब्हान पत्र जस्ताको तस्तै   

गैरआवासीय नेपाली साथीहरु

तपाइ हाम्रो रगत–पसिना सिञ्चेर बनेको गैरआवासीय नेपाली संघ अहिले आएर गम्भिर संकटको मोडमा उभिएको छ। समाज र मातृभूमीलाई केही योगदान गर्न बनेको यो संस्थामा पछिल्ला बर्षहरुमा देखिएका बिकृति र बिसंगतिप्रति हामी सबै जानकार नै छौं।

गैरआवासीय नेपाली संघको सदस्यता र मतदाता छनौटमा वर्तमान कार्यसमितिले अन्याय गरेको भन्दै संसारभरका धेरै सदस्य र धेरै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुले गरेका निरन्तर अनुरोध र गुनासाहरुलाई वर्तमान नेतृत्वले वेवास्ता गरी बिधान बिपरित छानिएका मतदाताका भरमा एकपक्षीय चुनाव घोषणा गरिएको छ।

हामीले संस्थाको एकता र प्रतिष्ठालाई कायम राख्दै बिबाद समाधानका लागि पूर्व अध्यक्षको हैसियतले निरन्तर कोसिस गर्दै आइरहेका छौं। बिबाद समाधान गरी यथासक्य चाडो दशौं महाधिवेशन हुन सकोस् भन्ने मनसायका साथ संघले हालै गठन गरेको बिबाद समाधान “उच्चस्तरीय समिति” मार्फत काम गरी बिबाद समाधानका उपायहरु पेश गरेको यहाँहरुलाई जानकारी गराउदछौं।

हामीले बिगत ६ महिना यता बिभिन्न चरणमा अनेक कोसिस गरी बिबाद समाधान गर्न र संस्थाको शाख बचाउन प्रयास गर्दै आइरहेका हौं। तर, यो प्रयास निरन्तर खेर गइरहेको छ। असन्तुष्टिका आवाजलाई सम्बोधन गरी समस्या समाधान गर्न संघको वर्तमान नेतृत्व पुरै उदासिन देखिएको छ। बिबाद समाधानका लागि दिएका सुझाव पालना गर्ने, बिधि सम्मत रुपमा दशौं महाधिवेशन गर्ने आम गैरआवासीय नेपालीहरुको अपेक्षा बिपरित संघको नेतृत्व संस्था एकतर्फी ढंगले चलाउने अभियानमा केन्द्रीत देखिन्छ।

धेरै देशका राष्ट्रिय समन्वय परिषदबाट अत्याधिक रुपमा र करिव ७० हजार मतदाताले संस्थामा बिधिसम्मत कार्य होस् भनी गरेको बारम्बारको अनुरोधप्रति संस्थाको नेतृत्व उदासिनमात्र देखिएको छैन, निरन्तर एकपछि अर्को बिधान बिपरितका काम भइरहेका छन्। विधि-बिधान अनुरुप सँस्थालाइ पारदर्शी रुपमा चलाउन माग गर्ने एनसीसीहरु माथि उल्टै अवैधानिक कारवाही थालिएको छ।

तसर्थ, संस्थालाई दुर्घटनाबाट बचाउन तपाइ हामी सवैजना मिलेर संयमित भएर एउटा ठोस कदम चाल्नुपर्ने अबस्था आएको छ। यो अवस्थामा संस्थालाई सुधार गरेर १० औं महाधिवेशन सम्पन्न गर्न सकिने के कस्तो अबस्था र अवसरहरु छन भन्ने बिषयमा परामर्श गर्न संस्थाको पूर्व अध्यक्षहरु एवं अभिभावकको हैसियतमा निम्न मितिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुको (जुममा) भेला बोलाइएको हुँदा यहाँहरु सवैको उपस्थीतिका लागि हार्दिक अनुरोध गर्दछौं।
 

प्रकाशित मिति: : 2022-03-05 18:50:00

प्रतिकृया दिनुहोस्