गत बिहीबारदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ। युद्धका कारण सयौंले ज्यान गुमाइसकेका छन्। युद्धलाई रोक्न दुई देशको बैठक बेलारुसमा भयो तर टुङ्गोमा पुग्न सकेन।
अहिले ठूलो संख्यामा रुसी सेना युक्रेनमा छिरेका छन्। अन्तर्राष्ट्रिय मिडियाका अुनसार रुसको झण्डै ७५ प्रतिशत सेना अहिले युक्रेन भित्र छन्। दुवै देशका सेनाले एकअर्कालाई देखे र भेटे गोली हान्छन्।
यस्तो अवस्थामा रुस र युक्रेनका सैनिक सहचारी भने काठमाडौंको एक कार्यक्रममा सँगै छन्। यो अवस्था सृजना गरिदिएको हो नेपाली सेनाले।
नेपाली सेनाले प्रत्येक वर्ष शिवरात्रीको दिन सेना दिवस मनाउने गर्छ। मंगलबार सेना दिवसमा अतिथिका रुपमा सहभागी हुन थुप्रै देशका सैनिक सहचारीलाई नेपाली सेनाले निमन्त्रणा गरेको थियो।
सोही अनुसरा नेपालको लागि २१ देशका आवासिय तथा गैरआवासिय सैनिक सहचारी नेपाल आएका थिए। उनीहरु सबै सेना दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आयोजन गरेको विशेष कार्यक्रममा सहभागी भएका थिए।
सेना दिवसको अवसर पारेर नेपाल आउनेमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी थिए। यस्तै, बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, ईटाली, ईजरायल, मेक्सिको, नाईजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैरआवासीय सैनिक सहचारीहरु पनि नेपाल आएका थिए।
सबै सैनिक सहचारीहरु एकसाथ बुधबार नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण गरेका थिए।
जंगी अड्डामा युद्धकार्य निर्देशनालयले उक्त भ्रमणदललाई नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण गरेको थियो। प्रस्तुतिकरण पश्चात प्रधान सेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका सैनिक सहचारीहरुसँग भेट गरेका थिए।
बिभिन्न देशका सैनिक सहचारीहरुले बिहीबार माउण्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ। उनीहरुले बिहीबार नै लुम्बिनी र पोखराको अवलोकन गर्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उनीहरु शुक्रबार नेपालबाट फर्कने छन्।
‘छिमेकी मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीहरुको यस किसिमको भ्रमणले सैनिक कुटनितिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाले विज्ञप्ति जारी गरी भनेको छ।