सार्वजनिक जग्गामा पूर्वराज्यमन्त्री दीपक खड्काको रजाइँ, ३ रोपनी भाडामा लिएर १२ रोपनी कब्जा

कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री दीपक खड्काले लैनचौरस्थित नेपाल स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर सत्ता र शक्तिको बलमा १२ रोपनीमा कब्जा जमाएका छन् ।

जहाँ उनले ब्यांक्वेट, रेस्टुराँ र वर्कसपसहितका व्यवसाय चलाएका छन् । यति मात्र होइन, राजनीतिक प्रभावमा उनले स्काउटकै ४८ वटा सटर भएको व्यावसायिक भवनसमेत १६ वर्षदेखि सस्तोमा लिएर महँगो भाडामा लगाएका छन् । जग्गा र भवनको तीन करोड १७ लाख बक्यौता माग्दा उल्टै स्काउट कार्यालयमा तोडफोड र कर्मचारीमाथि हातपात गरेर सत्ताको रवाफ देखाएका छन् । 

खड्काको कम्पनी ‘खड्का ल्यान्ड एन्ड डेभलपमेन्ट प्रालि’ले स्काउटको कार्यालयसँगै जोडिएको तीन रोपनी जग्गा १ मंसिर ०६५ मा भाडामा लिएको थियो । तर, उनले सम्झौताबाहेकको थप पाँच रोपनी नौ आना जग्गा पनि हडपे ।

कारबाही गर्नुपर्ने खड्का ल्यान्डलाई ०६६ मा स्काउटका तत्कालीन पदाधिकारीले राजनीतिक प्रभावमा ब्यांक्वेटको पार्किङका लागि भन्दै थप डेढ रोपनी पनि दियो । यसका अतिरिक्त झन्डै दुई रोपनी थप जग्गासमेत खड्काको कम्पनीले हत्याएर पार्किङमा प्रयोग गरिरहेको छ । यसरी खड्काले स्काउटको करिब नौ रोपनी एक आना जग्गा अनधिकृत रूपमा कब्जा गरेर व्यवसाय चलाइरहेको स्काउटले जनाएको छ । 

प्रकाशित मिति: : 2022-03-02 08:35:00

प्रतिकृया दिनुहोस्