अमेरिकी सहयाेग परियाेजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने नेकपा (माओवादी केन्द्र)को निर्णयप्रति नेता-कार्यकर्ताले विरोध जनाएका छन्।
प्रतिनिधिसभामा टेबल गर्नै नदिने यसअघिको अडान विपरित रातारात ब्याख्यात्मक टिप्पणीसहित अनुमोदनको निर्णय गरेपछि असन्तुष्टि चर्किएको हो।
एमसीसी अनुमोदनकाे निर्णयलाई लिएर माओवादी केन्द्रका शीर्ष नेताहरूले महाधिवेशनको म्याण्डेटविपरित अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीमा घुँडा टेकेको टिप्पणी गरेका छन्।
माओवादीको हालै सम्पन्न महाधिवेशनले ‘यथास्थितिमा एमसीसी सम्झौता पारित नगरियोस्’ भन्ने प्रस्ताव नै पारित गरेको छ। संशोधन बिना एमसीसी पास गर्न खोजे प्रतिवाद गर्ने र सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो।
तर, अध्यक्ष 'प्रचण्ड'ले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको निर्णय गरेपछि नेता-कार्यकर्ता रुष्ट भएका हुन्। नेता नारायणकाजी श्रेष्ठले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बिपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि प्रचण्ड गलेको नेताहरूको बुझाइ छ।
माओवादी नेताहरू कृष्णबहादुर महरा, देवप्रसाद गुरूङ, लीलामणि पोखरेल र गिरिराजमणि पोखरेलले पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा स्पष्ट असहमति प्रकट गरेका छन्। उनीहरूले टिप्पणीसहितको सम्झौताको अर्थ नहुने पनि दाबी गरेका छन्।
अर्का नेता लेखनाथ न्यौपानेले त आज बिहानको निर्णयको वैधानिकतामाथि नै प्रश्न उठाएका छन्। महाधिवेशनबाट केन्द्रीय समिति र त्यसपछि अध्यक्षमात्रै निर्वाचित भएकाले अन्य कमिटीले गरेका निर्णयको वैधानिकता नहुने भन्दै उनले अस्वीकार गर्ने बताएका छन्।