दाङमा ५ थान रेडपान्डाको छालासहित ३ जना पक्राउ

दाङमा प्रतिबन्धित बन्यजन्तु ५ थान रेडपान्डाको छालासहित ३ जना पक्राउ परेका छन्।

ठूलो मात्रमा हिमाली क्षेत्रबाट बन्यजन्तुको ओखेटोपहार रेडपाण्डाको छाला ल्याएर विक्रि वितरण गर्न लागेको सूचना आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सबै रोल्पा जिल्लाका रहेका छन्। रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ बस्ने ३२ वर्षीय राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नं.३ बस्ने २० वर्षीय रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने १९ वर्षीय राम कुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

दाङ जिल्ला हुँदै काठमाण्डौं तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी शुक्रबार बेलुकी करिब ७ बजे पक्राउ गरेको हो।

राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ - प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा ३ जनालाई प्रहरीले ५ थान रेडपाण्डाको छालासहित पक्राउ गरेको छ। पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको प्रहरी प्रमुख काफ्ले बताए।

लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उनको भनाई छ। बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको छ।

पक्राउ परेका ३ जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि बुझाउने तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2022-02-26 13:44:00

प्रतिकृया दिनुहोस्