रूसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै सार्वभौम राष्ट्र युक्रेनमाथि सैन्य आक्रमण गरेको चौबिस घण्टा बितेको छ। चौबिस घण्टामा बिभिन्न देशका नेताहरूले संयमताका साथ रूस–युक्रेन युद्धप्रति आफ्ना धारणा राखेका छन्।
विश्वका अधिकांश नेताहरूको रूस–युक्रेन युद्धमा युक्रेनको पक्षमा खुलेर धारणा राखेका छन्। तर नेपालका राजनीतिक दलका अधिकांश नेताहरू भने यस मुद्दामा मौन बसेका छन्। थोरै नेपाली नेताले मात्र रूस–युक्रेन युद्धका विषयमा मुख खेलेका छन्।
जनता समाजवादी पार्टी (जसपा), नेपालको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रूसी आक्रमणको निन्दा गरेका छन्। उनले युक्रेनमाथिको आक्रमण स्वीकार्य हुन नसक्ने समेत बताएका छन्।
‘अहिलेको युगमा कुनै पनि स्वतन्त्र देशमाथि बाह्य आक्रमण स्वीकार्य हुनसक्दैन। युक्रेनमाथिको रूसी आक्रमण निन्दनीय छ,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘साना–निर्धा देशले ठूला–बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शत्तिसन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि युक्रेनको घटनाले बुझाएको छ।’
नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलेले युक्रेनमाथि आक्रमण भएको सुन्दा दुःख लागेको जनाएका छन्। उनले युक्रेनमाथिको आक्रमणलाई रूसी हस्तक्षेप बताएका छन्।
‘रूसी हस्तक्षेपका कारण युक्रेनमा विस्फोट, विनास र पलायनका कुरा मिडियामा मार्फत सुन्दा दुःख लागेको छ,’ एमाले उपमहासचिव ज्ञवालीले ट्वीटरमा लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ। राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले युक्रेनमाथि रूसले गरेको आक्रमण स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन्। ‘पहिले विखण्नकारी उचाल्ने, पछि तिनलाई संरक्षणको वहानामा आक्रमण गर्ने काम स्वीकार्य हुनसक्दैन,’ अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्।
उनले सानो छिमेकी देश युक्रेनमा पृथकतावादीलाई संरक्षण गर्ने नाममा विश्व महाशक्ति रूसले गरेको आक्रमणवारे असंलग्नता, पंचशील र संयुक्त राष्ट्रसंघको बडापत्रमा विश्वास गर्ने नेपालले विरोध गर्नुपर्ने जनाएका छन्।
नेपाल सरकारले पनि बिहीबार एक विज्ञप्ति जारी गरी रूसी आक्रमणको विरोध गरेको थियो। नेपालले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दै राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न रूसलाई भनेको थियो।
‘नेपाल कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरूद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति तथा संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि विश्व घटनाहरूमा राजनीतिक दल र नेताहरूले बोलेपछि मात्र नेपाल सरकारले विज्ञप्ति जारी गथ्र्यो। यसपटक भने दल र नेताहरूले आफ्नो धारणा राख्न नपाउँदै सरकारले विज्ञप्ति मार्फत आफ्नो ‘स्ट्याण्ड’ देखाएको छ।
रूस–युक्रेन युद्धको मामिलामा नेपालका दल र नेताहरूले अहिले आश्चर्यजनक मौनता साधेका छन्। तीन वर्षअघि भेनेजुएलाको विषयमा अमेरिका विरूद्ध विज्ञप्ति जारी गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अहिले मौन छन्।
भेनेजुएलाको निर्वाचित राष्ट्रपतिविरूद्ध विपक्षी दलका नेताले आफैले आफैलाई राष्ट्रपति घोषणा गर्दा अमेरिकाले त्यसको समर्थन गरेको थियो। त्यसपछि प्रचण्डले २०७५ माघ ११ गते भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै कडा विज्ञप्ति जारी गरेका थिए। त्यतिबेला उनी तत्कालिन नेकपाको अध्यक्ष थिए। अहिले रूसले सानो र कमजोर सार्वभौम राष्ट्र युक्रेनमाथि आक्रमण गर्दा भने उनी मौन बसेका छन्।