उदयपुरमा निर्माणको क्षेत्रमा सँगै काम गर्ने कामदारबीच भएको विवादले हत्याको रूप लिएको छ। उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतमा साथीहरूबीच भएको हत्याले विवादको रूप लिएको हो।
मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बीचको डास खोलामा निर्माणाधीन पुलमा पायलिङ मेशिनको काम गर्दै आएका दुवै मजदुरबीच आपसी वादविवाद हुँदा एक जनाको हत्या भएको हो।
गत फागुन ७ गते उदयपुरको कटारी नगरपालिका–८ टोड्केको जंगलमा मृत भेटिएका व्यक्तिको हत्या भएको पाइएको प्रहरीले जनाएको छ। हत्या भएका व्यक्ति भारत राजस्थानका ५० वर्षीय रामकिसन मिणा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मिणाको हत्यामा संलग्न भएको आरोपमा उदयपुर कटारी नगरपालिका–१ बेलश्रोतका २८ वर्षीय कमल थापा भनिने कमल बिकलाई पक्राउ गरेको छ। बिकले मिणालाई माघ २५ गते घाँटीमा केबलको डोरीले कसेर हत्या गरेको बयानमा उल्लेख गरेका छन्।
हत्या गरिएका मिणा र हत्यामा संलग्न बिक मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधीन पुलमा पायलिङ मेशिनको प्राविधिकका रूपमा काम गर्दै आएका थिए।
उनी माघ २६ गतेदेखि सम्पर्कमा नरहेको भन्दै हुलियासहित पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि उनको खोजतलास गरिएको थियो।
पुलको ठेक्का गर्ने बिक र मृतक मिणाबीच पुलको पिलरको जग खन्ने मेसिन ल्याएर काम गर्ने भनी सम्झौता भए अनुसार दुवै पार्टनरका रूपमा काम गर्दै आएका थिए।
माघ २३ गते मिणाले चढ्ने गरेको बिआर ०१ बिसी ५६९७ नम्बरको गाडीमा दुवै जना काम गर्ने साइटबाट पुलको सामान लिन भनी वीरगन्ज गएका थिए। त्यहाँबाट माघ २५ गते फर्केर आउँदै गर्दा बिकको घर कटारी जाने क्रममा बाटोमा लेनदेनको विवाद भएपछि रिसको आवेगमा बिकले मिणाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
बिकले बेलश्रोतमा हत्या गरी उनीहरूले प्रयोग गर्दै आएको गाडीमा मिणाको शवलाई गाडीको डिकीमा ओढ्नेले छोपेर घटनास्थल भन्दा ३० किलोमिटरमाथि टोड्के जंगलमा फालेको प्रहरीले जनाएको छ।
मिणाको शवलाई जंगलमा फालेर फर्किएका बिकले मृतकले प्रयोग गर्ने मोबाइल फोन सप्तकोसी नदीमा फालेर उनीहरूले प्रयोग गर्ने गाडी भारतीय बजार भीमनगरमा लगेर बेवारिसे छोडेको अनुसन्धानबाट खुलेको छ।
एक महिना बित्न लाग्दा पनि मिणा नफर्केपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि सक्रियता बढाएको प्रहरीले बेवारिसे भनिएको शवको फोटो उनको आफन्तलाई सनाखत गराउँदा मिणाकै भएको पुष्टि भएको थियो। त्यसपछि प्रहरीले बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार बिकलाई पक्राउ गरेर अनुसन्धान थाल्दा उनले हत्या स्वीकारेको जनाएको छ।