जनमोर्चाका नेता अमरध्वज रानालाई विप्लव कार्यकर्ताले दले कालोमोसो

प्युठानकाे मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताहरूले कालोमोसो दलेका छन्।

राना राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय महासचिव पनि हुन्।

वडा–५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताएका छन्।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ,’ थापाले भने, ‘एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे।’ उनका अनुसार स्थानीय गोपीलाल सुनार, होमबहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन्।

घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। नेकपा प्युठानले दशबुँदे वक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ।

नेकपाका जिल्ला सेक्रेटरी अजयद्धारा हस्ताक्षरीत बक्तब्यमा मल्लरानी–५ सरङकोटस्थित भूमे विकास आधारभुत विद्यालयको कक्षा– ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद व्यक्तिलाई संरक्षण गरेको, उक्त विद्यालयका शिक्षक शिक्षिकालाई अभिभावकले सामाजिक बहिष्कार गर्दापनि गाउपालिकाले संरक्षण गरेको, प्रदेशबाट प्राप्त ३६ लाख बजेट प्रमुख प्रशासकीय अधिकृतले फ्रीज गरेको र अहिले ३० लाख बजेट बिनियोजन गरी स्टेटमेन्टअनुसार काम नगरेको, सरकारले छुटटाएको बजेटमा व्यक्तिगत तमसुक बनाएर मात्र बजेट विनियोजन गर्ने गरेका तम्सुक नगराएमा फ्रिज गर्नेधम्की दिने गरेको, झाक्रिस्थान र वडा–५ को बाटो मर्मत् नहुँदा यातायमा समस्या हुने गरेको, विपन्न परिवारलाई वितरण गर्ने सोलार विजुली बत्ति बल्ने घरमा वितरण गर्ने गरेको लगायतको आरोप लगाएको छ।

प्रकाशित मिति: : 2022-02-21 18:03:00

प्रतिकृया दिनुहोस्