यातायात व्यवस्था विभागले नक्कली लाईसेन्स तत्काल (अन द स्पट) पत्ता लगाउने एप्सकाे विकास गरेकाे छ।
साेमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाईल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाईसेन्स भेरिफिकेसन मोबाइल एप्स (License Verification Mobile Application) हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक वर्षे परिक्षणकालिन अवस्थामा रहेका लाईसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्ने बताए।
उनले एक वर्षे परिक्षणकालको अवधिमा पाँच पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्रापधान रहेको समेत दिए।
महाशाखा प्रमुख एसएसपी जोशीले यसअघि लाईसेन्स प्रमाणिकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाईसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल (अन द स्पट) मोबाईल एप्स मार्फत लाईसेन्स प्रमाणिकरण गर्न सक्ने बताए।
कसरी काम गर्छ एप्सले ?
विशेष प्रकारको मोबाइल एप्स मार्फत् यातायात व्यवस्था विभागले वितरण गरेको परिक्षणकालीन लाईसेन्स भेरिफाइ (Verify) गरिन्छ। उक्त लाईसेन्समा रहेको क्यूआरलाई यस एप्स मार्फत् स्क्यान गरी लाईसेन्स भेरिफाई गरिन्छ। उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा इन्स्टल गरी चेकजाँचको क्रममा अन द स्पट लाईसेन्स भेरिफाई गर्न सक्नेछन्। क्यूआर स्क्यान गरी लाईसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ।