चीनको टिप्पणीपछि अमेरिकाले भन्यो: एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय

File Photo
File Photo

अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ। नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ। 

एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग गरिरहेको आरोप उत्तरी छिमेकी चीनले लगाएको भोलिपल्ट शनिबार काठमाडौंस्थित अमरिकी दूतावासले एमसीसीको सामाग्री वेवसाइटमा राखेको छ।

यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष भएको र यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएको उल्लेख गर्दै वेवसाइटमा यी परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको बताइएको छ। 

'हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ' अमेरिकी दूतावासले भनेको छ। 

अमेरिकाले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने बताएको छ। 

'नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो' विज्ञप्तिमा भनिएको छ। 

५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाइएको छ।

यो दुई मुलुकबीचको साझेदारी भएको जनाउँदै अमेरिकाले यसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनमा सुधार गर्ने जनाएको छ।

'यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ' अमेरिकाले भनेको छ।

प्रकाशित मिति: : 2022-02-19 22:52:00

प्रतिकृया दिनुहोस्