वैशाख १ मा गौतमबुद्ध विमानस्थलको शुभारम्भ हुन्छ : मन्त्री आले

File photo
File photo

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी  वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन्। १५ फागुनसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि १ वैशाखदेखि नयाँ विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने मन्त्री आलेको भनाइ छ।

विमानस्थलको निरीक्षण गर्न शनिबार भैरहवा आएका मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने जानकारी दिए। उनले यान्त्रिक परीक्षण उडानको मिति १५ फागुनका लागि तोकिएको भए पनि त्यसअघि नै गर्न पाउँदा खुशी लागेको बताए।

५६ दिनमा क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आउने भए पनि आफूले विमानस्थल आयोजना तथा एरो थाई कम्पनीका परियोजना निर्देशक तथा नेपाल प्रतिनिधिलाई अहोरात्र खटेर ४२ दिनमै रिपोर्ट पेश गर्न अनुरोध गरेको उनले बताए।

अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने उनकोे भनाइ छ। उनले विमानस्थलको दोस्रो चरणको कामका लागि अर्थमन्त्रीसँग कुराकानी भैरहेको पनि बताए। दोस्रो चरणअन्तर्गत बन्ने दोस्रो टर्मिनल भवनका लागि छिटै टेण्डर प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए।

लुम्बिनी विकास गुरुयोजनाको काम १९ प्रतिशत रहेको र बाँकी रहेका काम सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर अगाडि बढाउने मन्त्री आलेको भनाइ छ। अब छिटै गुरुयोजनाका बाँकी काम सम्पन्न गरिने पनि उनले बताए।
 

प्रकाशित मिति: : 2022-02-19 16:42:00

प्रतिकृया दिनुहोस्