डेलिगेट डा. भण्डारी नेपाली उम्मेद्वारलाई समर्थन गर्न टेक्सासमा

अमेरिकामा नेपाली मूलका एक मात्र राज्य विधायक डा. ह्यारी भण्डारी टेक्सास पुगेका छन्। नेपालीहरूको बाक्लो बसोबास रहेको टेक्सासको फोर्टवर्थ क्षेत्रबाट निर्वाचनमा उम्मेद्वार भएका दुई नेपालीप्रति समर्थन जनाउन उनी टेक्सास पुगेका हुन्।  

टेक्सासको डिस्ट्रिक्ट ९२ बाट दिनेश शर्मा डेमोक्रेटिक पार्टीको उम्मेद्वारको आकांक्षी भएर चुनावी मैदानमा उत्रेका छन्। यसैगरी डेमोक्रेटिक पार्टीबाटै युलेस प्लेस ३को काउन्सिलम्यानका लागि मोहन ज्ञवालीले उम्मेद्वारी दिएका छन्।    

डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यका केन्द्रीय सदस्य डा. भण्डारी मेरिल्याण्ड राज्यका विधायक हुन्। उनी राज्यको डिस्ट्रिक्ट ८ बाट विजयी भएका हुन् । २०१९ मा भएको निर्वाचनमा विजयी भएर अमेरिकामा नेपालीको पक्षमा उनले नयाँ इतिहास रचेका थिए। अहिले उनी पहिलो कार्यकालको अन्तिम वर्षको विधायिकी शत्रमा व्यस्त छन्। दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिइसकेका डेलिगेट डा. भण्डारी विजयलाई दोहोर्याएर इतिहासको अर्को पाना पल्टाउन चाहन्छन्।     


डेलिगेट डा. ह्यारी भण्डारीको सम्मानमा नेपाली समाज टेक्सासले शनिबार साँझ एक मिट एण्ड ग्रिट कार्य्रकम आयोजना गर्ने भएको छ। समाजका अध्यक्ष राजेन्द्र वाग्लेले  कार्यक्रममा सहभागि हुन टेक्सासबासी नेपालीहरूलाई अनुरोध गरेका छन्। उनका अनुसार कार्यक्रम शनिवार साँझ ५ बजेदेखि ७ बजेसम्म गोर्दा हिल युलेसमा हुने छ।  

तीनदिने टेक्सास भ्रमणका क्रममा उनले धेरैभन्दा धेरै नेपालीसँग सद्भाव साटासाट गर्ने अपेक्षा गरेका छन्। २०१८ मा आफ्नो निर्वाचन अभियानको क्रममा टेक्सास आएको संस्मरण गर्दै उनले फेसबुकमा एक लामो स्टाटस लेखेका छन्। उनले अगाडि लेखेका छन्, ' त्यतिबेला मैले यहाँबाट नेपाली उम्मेद्वार हुनुपर्ने धारणा राख्दै त्यसो भएमा आफू सदैव साथ, सहयोग र समर्थन गर्न आउने वाचा गरेको थिएँ। म यहाँ आउनुको मूल कारण मैले त्यो वाचा बिर्सेको छैन भन्ने प्रत्याभूति दिनु पनि हो। म यहाँहरू सँगै छु र मैले एक डेलिगेटका रूपमा हासिल गरेको चार वर्षको अनुभवले यहाँको नेपाली डायस्पोरालाई सिञ्चित गर्न चाहन्छु।'  

आफूलाई अमेरिकामा नेपालीलाई मूलधारमा ल्याउन र उनीहरूका समस्यालाई अमेरिकी समस्या बनाउन राजनीतिक क्षेत्रबाट लागिपरिरहेको एक अभियन्ता भएको बताउँदै उनले अगाडि लेखेका छन्, 'म चाहन्छु, अमेरिकाका हरेक नेपाली डायस्पोरा यो अभियानमा जोडिनुपर्छ र धेरैभन्दा धेरै नेपालीहरू चुनावमा सहभागी भएर नेपाली समुदायलाई मूलधारमा देखिने गरी भिजिबल बनाउनुपर्छ।'

 

प्रकाशित मिति: : 2022-02-19 09:18:00

प्रतिकृया दिनुहोस्