जिल्ला प्रशासन कार्यालय जुम्लाले कोभिड–१९ संक्रमण पुष्टि भई मृत्यु भएका प्रतिघरपरिवारलाई १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट जुम्लाका २२ मृतकका परिवारमध्येका हकवालालाई रकम उपलब्ध गराइएको हो।
पहिलो चरणको कोरोना संक्रमणमा जुम्लाले मृत्यु बेहोर्नुपरेको थिएन। दोस्रो संक्रमणले मृत्यु भएका व्यक्तिका घरपरिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।
उनका अनुसार संक्रमणको तेस्रो तहमा जुम्लाले अहिलेसम्म मृत्यु बेहोर्नुपरेको छैन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वैशाख ०७७ देखि कोभिड परीक्षण ल्याब सञ्चालनमा आएको छ। संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो। जसमध्ये ४ सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो।
दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि देखिएको हो। ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमित भएका थिए।
३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४५६ जना संक्रमित देखिएका थिए। १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ।
जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन्। पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ रहेका छन्।
संक्रमणको तेस्रो लहरमा जुम्लामा संक्रमित हुने संख्या १७८ पुगेको छ। यसमध्ये ९३ जना निको भइसकेका छन् भने ८५ जना संक्रिय संक्रमित छन्।
संक्रिय संक्रमितमध्ये ५ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार छन् भने ८० जना होम आइसोलेसनमा छन्।