नागरिक भन्छन्– एमसीसी पास नगर

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा छैन भन्ने थुप्रै आशंका गर्न सकिन्छ। यति ठूलो विरोध भइरहेको छ। तर ठूला राजनीतिक पार्टी संसदबाट नै पास गर्न लाग्नु केही स्वार्थ लुकेको हुनुपर्छ,’ यो भनाई हो पाल्पाको तिनाउ गाउँपालिका ३ का विवेक सापकोटको।

दाङ घोराहीमा बुधबार ४ राजनीतिक दलले एमसीसी तथा पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा गरेको कार्यक्रम हेर्न आएका सापकोटाले सो कुरा बताएका हुन्। दाङमा जागिर गर्दै आएका उनले एमसीसीका विरुद्धमा कार्यक्रम भएको देखेपछि हेर्न आएका थिए।

सोहि समयमा बिएल नेपाली सेवासँग कुरा गर्दै उनले एमसीसीविरुद्धमा भइरहेको विरोध सकारात्मक रहेको बताए। किन ठूला राजनीतिक पार्टीले एमसीसी पास गर्न खोजेका छन् होला? भन्ने प्रश्नमा उनले राजनीतिक पार्टीका शीर्ष नेतामा व्यक्तिगत स्वार्थ तथा राजनीतिक स्वार्थ भएको हुन सक्ने बताए।

‘नागरिकस्तरबाट यति ठूलो विरोध हुँदाहुँदै पनि कुनै स्वार्थविना नेताहरुले एमसीसी पास गर्न खोजेको जस्तो मलाई लाग्दैन,’ सापकोटाले भने, ‘केही स्वार्थ त छ। व्यक्तिगत पनि हुन सक्छ। राजनीतिक स्वार्थ पनि हुन सक्छ।’

उनले नेपालको विकासका लागि अमेरिकी सैन्य रणनीतिसँग जोडिएको एमसीसी पास नगर्न आग्रह पनि गरे।

‘आखिर धेरै ठूलो रकम पनि होइन। त्यही ५०/५७ अर्ब त हो नि, यति रकमका लागि किन संसदबाट नै पास गर्न मरिहत्ते भएको होला,’ उनले अनविज्ञता प्रकट गर्दै भने, ‘यो सैन्य रणनीतिसँग जोडिएको छ। म त एमसीसी पास नगर भन्छु।’

यस्तै विरोध कार्यक्रममा सहभागी भएर आएका तुलसीपुर उपमहानगरपालिका-१७ का हिमाल केसीले सरकारलाई एमसीसी पास नगर्न आग्रह गरे। कक्षा १२ मा अध्ययनरत केसीले खास एमसीसी भनेको के हो भन्ने थाहा नभएको बताउँदै एमसीसीका विषयमा प्रश्न उठ्नु राम्रो नभएको बताए।

उनको बुझाइमा एमसीसी पास भएमा अमेरिकाले नेपालमा सेना पठाउने छ भन्ने छ। त्यसका लागि पनि एमसीसी नेपालीलाई आवश्यक नरहेको भन्दै यसलाई पास नगर्न दबाब दिन विरोध कार्यक्रममा सहभागीको भएको केसीको भनाई छ।

‘नेपालमा अमेरिकी सेना आउनु त राम्रो होइन नि,’ उनले भने, ‘राष्ट्र बचाउन जे पनि गर्न तयार छु। एमसीसी पास नगर्न दबाब दिन आज विरोध कार्यक्रममा आएको छु।’

त्यसैगरी घाराही उपमहानगरपालिका-३ की ममता घर्तीले एमसीसी के हो भन्ने अनविज्ञता प्रकट गर्दै सबैको विरोध अनुसार यो राम्रो नरहेको अभाष भएको बताइन्। उनले भनिन्, ‘यो के हो, सबै त थाहा छैन। तर ठूला–ठूलाले पनि त विरोध गरेका छन्। यो हाम्रा लागि राम्रो होइन।’ उनले पनि विरोध हुँदाहुँदै संसदबाट एमसीसी पास नगर्न आग्रह गरिन्।

एमसीसी पास भए जनताले नेतालाई खरानी बनाउँछन्

दाङमा ४ राजनीतिक दलले एमसीसीका विरुद्धमा गरेको विरोध कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बलबहादुर वली (सितल)ले यदि ठूला राजनीतिक दलका नेताहरुले एमसीसी पास गरे जनताले नेतालाई खरानी बनाउने बताएका छन्।

एमसीसी राष्ट्रका हितमा हुँदै नभएको भन्दै उनले जनताको विरोधकाबीचमा पनि सरकारमा रहेको नेताहरुले जबरजस्ती एमसीसी पास गरे नेताहरुलाई जनताले नै खरानी बताउने बताएका हुन्।

यस्तै नेकपा मसाल दाङका प्रवक्ता भरत भण्डारीले अमेरिकाले नेपालालाई प्रयोग गरेर एसियमा आफ्नो प्रभुत्व जमाउन खोजेको बताए। ‘अमेरिकाले यूरोपका केही देशलाई गुलाम बनाइसकेको छ। खाडीमा सेना राखेको छ,’ उनले भने, ‘अब नेपालमा एमसीसी माफर्त सेना लिएर एसियामा पनि प्रभुत्व जमाउन खाजेको छ।’

उनले एमसीसीलाई रोक्न जनता जागरुक हुन आवश्यक रहेको बताए। ‘जनताका बलले पञ्चायत फालियो, राजतन्त्र फालियो र गणतन्त्र आयो,’ उनले भने, ‘एमसीसी पनि जनताका बलले पास हुँदैन।’

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य हिरामणी दुःखीले जनताको दबाबका बीचमा पनि सरकारले एमसीसी पास गरे बन्दुक उठ्ने बताए। उनले एसीसी कार्यक्रम नेपालपमा लागू गर्ने हो भने अर्थ मन्त्रालयसँगको सम्झौता नै काफी रहेको बताए।

‘एमसीसी कुनै पनि हालतमा संसदबाट पास हुनुहुँदैन, अन्य सहयोग अर्थ मन्त्रालयको सम्झौतामा हुन्छ,’ दुःखीले भने,  ‘यदि अमेरिकाले सहयोग गर्न चाहन्छ भने अर्थ मन्त्रालयसँग १९१७ मा सम्झौता भइसकेको छ। कार्यन्वयमा लगे हुन्छ।’

नेकपा मालेका दाङका सचिव नेत्र प्रकाश पाण्डेले एमसीसी राष्ट्र हितमा नरेको बारम्बार भनेर सरकारलाई झकझकाउँदा पनि नसुन्नु दुःख भएको बताए।

‘यो तुलसीपुर चोकबाट हामीले थुप्रै पटक एमसीसी राष्ट्रका हितमा छैन भनेर सरकारालई झकझाएका छौँ, तर सरकार सुन्दैन। यो दुःखद हो,’ उनले भने।

प्रकाशित मिति: : 2022-02-09 18:12:00

प्रतिकृया दिनुहोस्