रोल्पाको विकासमा रेगबहादुरजीको योगदानलाई भुल्नु ठूलो अन्याय हुनेछ

रहेनन् पूर्वमन्त्री सुवेदी, शाेकमा डुब्याे राेल्पा

पूर्वमन्त्री रेगबहादुर सुवेदीको ८२ वर्षकाे उमेरमा निधन भएको छ। रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ गजुल निवासी सुवेदीको आज (मंगलबार) विहान आफ्नै निवासमा निधन भएको हो।

वि.स.१९९६ मा जन्मेका सुवेदी राजनीतिमा आउनुअघि गाउँकै विद्यालयमा शिक्षक थिए। उनका ठूलो बुवा षडानन्द सुवेदीको चुनावी अभियान हिँड्नेक्रममा राजनीतिमा आकर्षित भएका सुवेदी २०२० देखि युवक संगठनमा लागेका थिए। २०३४ अघि जिल्ला पञ्चायत सभापति भएका सुवेदी २०३४ सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए।

उनी जनमतसंग्रहपछि पहिलो पटक बालिक मताधिकारबाट भएको निर्वाचनमा पनि राष्ट्रिय पञ्चायत सदस्य भएका थिए। २०४३ सालमा पनि सुवेदी राष्ट्रिय पञ्चायत सदस्य भएका थिए।

२०३९ सालमा नै सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला भूमि सुधार सहायक मन्त्री भएका सुवेदीले पछि २०४३ सालमा मध्य क्षेत्र भूमिसम्बन्धी उच्चस्तरीय आयोगको अध्यक्ष भएर काम गरेका थिए। द्वन्द्वका बेला तत्कालिन बिद्रोही नेकपा (माओवादी)को ३ महिना अपहरणमा परेका सुवेदीको पछि दिल्लीमा मुटको बाइपास सर्जरी गरिएको थियो। २०५६ सालको प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उमेद्वार भएका सुवेदी पराजित भएका थिए।

२०४६ सालपछि देशमा बहुदल आएसँगै राप्रपामा आवद्ध सुवेदी हाल नेपाली कांग्रेसका थिए। उनी गत मंसिरमा भएको काँग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत बनेका थिए।


पूर्वमन्त्री बालाराम घर्तीमगरकाे नजरमा रेगबहादुर सुवेदी

जीवनमा मित्रहरू धेरै भए तर असल मित्रको नाम लिनुपर्दा त्यसको संख्या निकै कम हुँदोरहेछ। मेरा असल मित्रका रूपमा जीवनभर विर्सन नसक्ने नेता हुनुहुन्थाे रेगबहादुर सुवेदी। उहाँको जन्म १९९७ सालमा रोल्पा जिल्लाको गजुल गा. वि. स. मा भएको थियो। पिता चन्द्रकान्त एवं माता पम्फा सुवेदीका जेष्ठ सुपुत्र हुनुहुन्छ, रेगबहादुर सुवेदीजी।

राजनीतिक वातावरणमा हुर्कन पाउनुभएकाले पनि यतातर्फ आकर्षण हुने सुयोग उहाँलाई प्राप्त भयो। उहाँका बुबा र ठूलो बाबा (खडानन्द सुवेदी) को सम्बन्ध राम र लक्ष्मणको जस्तै थियो। रेगबहादुरजीलाई गाउँघरदेखि मैले चिन्दै आएको छु। मेरो उन्नति, प्रगतिमा रमाउने कमै साथी र शुभचिन्तकमध्ये उहाँ एक हुनुहुन्थ्याे। असल पारिवारिक संस्कारकै कारण सानैदेखि उहाँ स्वच्छ छविको हुनुहुन्थ्यो।

मेरो राजनीतिक पृष्ठभूमिमा उहाँको पारिवारिक योगदान स्तुत्य रहेको छ। सुवेदीहरू हाम्रा पुरोहित भएकाले पनि उहाँहरूको सहयोग, सद्भावमा कहिल्यै कमी भएको मलाई थाहा छैन। गाउँ पञ्चायतदेखि जिल्ला पञ्चायतको सदस्य हुँदासम्म उहाँ जनताका बीच लोकप्रिय र इमान्दार नेताका रूपमा स्थापित भइसक्नुभएको थियो। यही कारण उहाँलाई जनताले वि. सं. २०३५ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा विजयी गराए। राजनीतिमा लामो समयसम्म सहयात्रा गर्ने कमै साथीमध्ये उहाँ एक हुनुहुन्थ्याे।

उहाँ भूमिसुधार सहायक मन्त्री हुनुभयो। पैतृक सम्पत्ति खर्च गरेर राजनीति गर्ने उदाहरण उहाँको परिवारमा देख्न पाइन्छ। रोल्पाको विकासमा रेगबहादुरजीको योगदानलाई भुल्नु ठूलो अन्याय हुनेछ।

प्रकाशित मिति: : 2022-02-01 11:15:00

प्रतिकृया दिनुहोस्