रहेनन् पूर्वमन्त्री सुवेदी, शाेकमा डुब्याे राेल्पा

पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका– ६ गजुल निवासी ८२ वर्षका सुवेदीको आज (मंगलबार) विहान आफ्नै निवासमा निधन भएको हो। पञ्चायत कालमा रोल्पाबाट पटक–पटक राष्ट्रिय पञ्चायत सदस्य बनेका सुवेदी २०३९ सालमा भूमि सुधार सहायक मन्त्री बनेका थिए।

यस्तो छ सुवेदीको राजनीतिक यात्रा

वि.स.१९९६ मा जन्मेका सुवेदी राजनीतिमा आउनुअघि गाउँकै विद्यालयमा शिक्षक थिए। उनका ठूलो बुवा षडानन्द सुवेदीको चुनावी अभियान हिँड्नेक्रममा राजनीतिमा आकर्षित भएका सुवेदी २०२० देखि युवक संगठनमा लागेका थिए। २०३४ अघि जिल्ला पञ्चायत सभापति भएका सुवेदी २०३४ सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए।

उनी जनमतसंग्रहपछि पहिलो पटक बालिक मताधिकारबाट भएको निर्वाचनमा पनि राष्ट्रिय पञ्चायत सदस्य भएका थिए। २०४३ सालमा पनि सुवेदी राष्ट्रिय पञ्चायत सदस्य भएका थिए।

२०३९ सालमा नै सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला भूमि सुधार सहायक मन्त्री भएका सुवेदीले पछि २०४३ सालमा मध्य क्षेत्र भूमिसम्बन्धी उच्चस्तरीय आयोगको अध्यक्ष भएर काम गरेका थिए। द्वन्द्वका बेला तत्कालिन बिद्रोही नेकपा (माओवादी)को ३ महिना अपहरणमा परेका सुवेदीको पछि दिल्लीमा मुटको बाइपास सर्जरी गरिएको थियो। २०५६ सालको प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उमेद्वार भएका सुवेदी पराजित भएका थिए।

२०४६ सालपछि देशमा बहुदल आएसँगै राप्रपामा आवद्ध सुवेदी हाल नेपाली कांग्रेसका थिए। उनी गत मंसिरमा भएको काँग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत बनेका थिए।

प्रकाशित मिति: : 2022-02-01 10:53:00

प्रतिकृया दिनुहोस्