कमरेडले ‘लिइसेको’ पछ्यौरी

कार्यकर्ताले पछ्यौरी ‘लिस्यो’ भनेर अनुरोध गरेको गीतमा नाच्न एमाले नेताहरूलाई किन रहर जागेको होला ?

एक समय थियो, पोखरा जाँदा पृथ्वीनारायण क्याम्पसको गेटमा चिया पिउन पुगिएन भने केही छुटेझैँ लागिरहन्थ्यो। पहिले लतका रूपमा रहेको यो बानी अब बिस्तारै हट्न थाले पनि टुटिसकेको भने छैन। पहिले यस्तो चियासँग मिसिने क्यापम्पसका सर या साथीहरू अब बिस्तारै रिटायर्ड हुँदै छन्। पहिले भेट हुने गरेका चिनजानका विद्यार्थी नेता पनि अब रहेनन्। तैपनि किन हो, क्याम्पस गेट जान मन लाग्छ। गत साता पोखरामा भएको वेला यस्तै लोभले क्याम्पससम्म पुगियो। साथमा पहिलेका विद्यार्थी नेता कमल श्रेष्ठ थिए। अन्नपूर्ण म्युजियममा रहेका भाइ आनन्द सुवेदीलाई भेट्न भित्र पस्दा विज्ञान भवनमा रहेको मञ्चमा राता ब्यानर र अखिलको झन्डा देखिए। कार्यक्रम भर्खर सकिएजस्तो दृश्य थियो। यही दृश्यले आफ्ना पुराना दिन सम्झना आए।

२ वैशाख, २०३६ मा विद्यार्थी आन्दोलन र हडतालको आह्वानका लागि हामी यहीँ जम्मा भएका थियौँ। विद्याविमल बराल, ध्रुव वाग्लेहरूले यही मञ्चबाट मागपत्र सुनाएका थिए। ०३६ असारमा यहीँ नाच्दै गाउँदै हामीले विद्यार्थी युनियनको निर्वाचन परिणाम सुनेका थियौँ। जित्नेहरू थिए– सोमनाथ अधिकारी प्यासी, अमरिस हमाल, हरि पथिक, रामप्रसाद शर्मा, वसन्ती लालचन, नारायणसिंह गुरुङ, शेखरनाथ अधिकारी, गंगा गुरुङ... अहिले पनि नाम सम्झनामा छन्। ०३९ माघ अन्तिम सातातिर स्ववियुले आयोजना गरेको स्वागत कार्यक्रममा अलिअलि काम्दै पहिलोपटक प्रत्युत्तर भाषण गरेको सम्झन्छु। कैयौँ आन्दोलनको उद््घोष गरेको यही मञ्च थियो। स्ववियु सभापति निर्वाचनका क्रममा प्रतिस्पर्धा गरेको यतै त हो। यतै त हो काले गोपालले २०४० को मे दिवसमा गणतन्त्रको नारा घन्काएको र हामीले राजतन्त्रविरुद्ध गगनभेदी नारा लगाउँदै क्याम्पस गेटमा प्रहरीसँग भिडन्त गरेको । आफ्नो तरुण वयका दिन केही सपना सजाउँदै क्रान्तिका लागि तयार पार्दै यतै त बिताइएको थियो। 

प्रकाशित मिति: : 2022-01-05 10:24:00

प्रतिकृया दिनुहोस्