पाकिस्तानमा फेला पर्‍याे २ हजार ३ सय वर्ष पुरानो बौद्ध मन्दिर

Dawn

उत्तर–पश्चिमी पाकिस्तानकाे खैबर पख्तूनख्वा प्रान्तमा २ हजार ३ सय वर्ष पुरानो बौद्ध मन्दिर फेला परेको छ। पाकिस्तानी र इटालियन पुरातत्वविद्को संयुक्त टोलीले यो मन्दिर स्वात जिल्लाको बरीकोट तहसीलमा फेला पारेकाे हाे।

उत्खननका क्रममा अन्य बहुमूल्य वस्तुहरूसमेत फेला पारेकाे बताइएकाे छ। मन्दिरलाई पाकिस्तानी बौद्ध कालको सबैभन्दा पुरानो मन्दिरको रूपमा चित्रण गरिएको छ। यो मन्दिर पाकिस्तानको तक्षशिलाकाे बौद्ध मन्दिरभन्दा पनि पुरानो रहेकाे पुरातत्वविद्हरूकाे दाबी छ।

'पाकिस्तान र इटालियन पुरातत्वविद्हरूले उत्तर-पश्चिम पाकिस्तानको एक ऐतिहासिक स्थलमा संयुक्त उत्खननका क्रममा बौद्ध कालको एउटा मन्दिर फेला पारेका छन्,' एक वरिष्ठ अधिकारीले भने, 'जाे २ हजार ३ सय वर्ष पुरानो छ। र, सँगसँगै अन्य बहुमूल्य वस्तुहरू पनि बरामद भएका छन्।'

पुरानाे बौद्ध मन्दिरसँगै पुरातत्वविद्ले ग्रीसका राजा मिनान्दरको समयका खरोष्ठी भाषामा लेखिएकाे सिक्का, औंठी र भाँडाकुँडालगायत अन्य २ हजार ७ सयभन्दा बढी बौद्ध कलाकृति भेटिएकाे छ।

स्वात जिल्लाको ऐतिहासिक नगर बरीकोट बाजीरामा उत्खननका क्रममा थप पुरातात्विक स्थल फेला पर्ने विश्वास इटालियन विज्ञहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2021-12-20 05:02:00

प्रतिकृया दिनुहोस्