सेनाको क्याम्पसबाट एमबीबीएसका विद्यार्थी तीन महिनादेखि बेपत्ता, आफन्त भन्छन् –‘क्याम्पस प्रशासनको हात छ’ [भिडियोसहित]

कमल प्रभात

काठमाडौं

काठमाडौंको सानोभर्‍याङ, स्वयम्भूस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत २४ वर्षीय राजेश शाही विगत तीन महिनादेखि सम्पर्कविहीन छन्।

दैलेखको गुराँस गाउँपालिका– २ बस्ने दानबहादुर शाहीका छोरा हुन्, उनी। लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनी प्रहरीमा निवेदन परेलगत्तै खोजी सुरू गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिए।

‘कलेजबाट निस्केर गएको भन्ने छ। हामी खोज्दै छौँ। कारण पत्ता लागिसकेको छैन,’ बस्नेतले भनेका छन्।

परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकीर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन्। शाहीका फुपूका छोरा (नाताले दाइ) पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन्।

भदौ १७ गते हराएका उनीबारे सेनाले २१ गते मात्रै परिवारलाई खबर गरेको थियो। त्यसले थप आशङ्का उब्जिएको पनि दाइ पदमले बताए।

खबर पाउनेबित्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिएका थिए तर अहिलेसम्म कुनै जानकारी आउन नसकेको मल्लको गुनासो छ।

‘दुई महिना भयो हराएको, अहिलेसम्म अवस्था के छ कसैलाई पत्तो छैन। भइरहेको अनुसन्धान प्रक्रिया पनि चित्तबुझ्दो छैन,’ उनले भने, ‘बाध्य भएर मिडियामा आउनुपरेको छ।’

आफ्नो विद्यार्थीको निगरानी गर्नुपर्ने जिम्मेवारी संस्थानको हो तर त्यहाँबाट ध्यान नदिँदा भाइको अवस्था अज्ञात बन्न पुगेको बताए। ‘उनी असल विद्यार्थी हुन्। गलत भए पनि कानूनी उपचारको बाटो अलग्गै हुन्छ। हामीलाई मान्छे चाहियो,’ उनले जोड दिए। 

शाहीका साथीहरूले आफूहरूलाई ‘छिटो आएर राजेशलाई निकाल्नू’ भनेर खबर गरेको पनि उनले बताए।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कबिहीन भएको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताए।

उनले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकारी दिए। ‘उनी गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन्। कारण फेला पार्न सकिएको छैन,’ प्रवक्ता पौडेलले भने।

दुई महिनादेखि फेला नपर्नुमा विडम्बना भएको र उनको खोजीका लागि प्रधानसेनापति प्रभूराम शर्माबाट समेत स्पष्ट निर्देशन आएको पनि उनले जानकारी दिए।

प्रवक्ता पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले समेत घटनाको अनुसन्धान गरिरहेको र सिआईबीलाई अनुसन्धानमा सेनाको पूर्ण सहयोग रहेको बताए। 

परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ।

नेपाली सेनाको स्कुल/कलेजमा अध्यन गर्नु निकै सुरक्षित र भरपर्दो मानिन्छ तर शाही बेपत्ता भएको यति धेरै समयसम्म कुनै कारण नखुल्नु र उनी फेला नपर्नुले सेनाको सस्थानप्रति आफन्तहरुले प्रश्न उठाउँदैआएका छन्।

छोरा बेपत्ता भएको केही दिनपछि जानकारी पाएका शाहीका बाबु दानबहादुर शाही अहिले छोराको खोजीमा काठमाडौंमा भौँतारिदै आएका छन्। सेनाको सस्थानबाट बेपत्ता हुनु र अहिलेसम्म हराएको छोरा फेला नपर्नुले शाहीले प्रहरी कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाउँदै आएका छन् र पनि हराएको छोराको बारेमा केही पत्तो पाएका छैनन्।

बेपत्ता छोराका बाबु दानबहादुरका अनुसार, राजेश भदौ १७ गते सस्थानबाटै बेपत्ता भएका थिए। तर, त्यो खबर परिवारले भदौ २१ गते मात्र जानकारी पाए।

बिएल नेपाली सेवासँग दानबहादुरले भने,‘छात्रावासबाटै छोरा हराएको हो, संस्थान प्रशासनको मिलोमतोमा मेरो छोरा गायव भएको छ, यो कुरा खुल्दैछ’, शाहीले भने।

‘छोरा हराएको भदौ १७ गते हो २१ गतेमात्रै सेनाले हामीलाई खबर गर्यो, सम्पर्कबिहीन भएको यति धेरै दिनपछि खबर गर्नुको अर्थ के?’, दानबहादुरले भने।

छोरा हराएको खबर पाउनासाथ आफु काठमाडौं आएको र नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिएको भन्दै घटना भएको यति लामो समयसम्म पनि कुनै कुरा नखुल्नुमा संस्थान प्रशासनको हात रहेको दानबहादुरको भनाइ छ।

‘हामीले छोरालाई सहीछाप गरी सस्थानको जिम्मा लगाएको हो, संस्थानले यो कुरा बुझोस् छोरा कहाँ गयो खोजी गर्नुको साटो हामीलाई घुमाउने काम भयो, यसले गर्दा हामीलाई झनै पीडा भएको छ’, दानबहादुरले भने।

क्याम्पस प्रशासनसँग हामीले धेरै पटक छोरा खोजिदिन भन्यौँ, जिम्मा लिएर राखेको प्रशासनले हामीलाई सधैँ गैरजिम्मेवारी पूर्ण व्यववहार गरेर पठायो। 

दानबहादुरले भने, ‘उहाँहरु खोजिरहेका छौं भनेर पन्छिनुभएको छ।’

'हराएको छोरा खोजी गर्न हामीले आग्रह गर्दा उल्टै छोराको बानी राम्रो नभएको भनेर हामीलाई पीडिमाथि पिडा थप्ने काम भयो', दानबहादुरले भने।

उता नेपाली सेनाका प्रवक्ता सन्तोस बल्लभ पौडेलले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीसँग मिलेर अनुसन्धानको कार्य भईरहेको बताए।

प्रवक्ता पौडेलले भने,'सीआईवीले अनुसन्धान गरिरहेको छ, त्यसमा हामीले पनि सहयोग गर्दै आएका छौं, सस्थानबाट बाहिरीएपछि शाही सम्पर्क बिहिन भएको देखियो, अनुसन्धान हुदैछ, हामी त्यसमा गम्भीर छौं।'

बेपत्ता शाहीका बारेमा अनुसन्धान जारी रहेको सीआईवीका निर्देशक डीआईजी धिरज प्रताप सिहंले बताए।

डीआईजी सिहले भने,‘अनुसन्धान जारी छ, हामीले धेरै पाटोबाट अनुसन्धान सुरु गरेका छौं’त्यसमा हामी गम्भीर छौं।'

प्रकाशित मिति: : 2021-12-20 07:00:00

प्रतिकृया दिनुहोस्