रौतहटको राजपुरमा भएको बमकाण्डका घाइतेहरूलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको आरोप लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमले सफाइ पाएका छन्।
उच्च अदालत वीरगन्जका न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले यसअघि रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला उल्ट्याउँदै
आलमलाई सफाइ दिएको हो।
२०८१ साल वैशाख १३ गते रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो।
०००
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्।
बुधबार संसद भवन परिसरमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर राजीनामा मागिएको दाबी गर्दै कर्मचारीमाथि अनुसन्धान हुँदा राजनीतिक नेतृत्वलाई जोड्दै जाने हो भने व्यवस्था नै चल्न नसक्ने दाबी गरेका छन्।
आफूविरुद्ध कुनै उजुरी र छानबिन नै नभएको स्पष्ट पार्दै उनले आफूमाथि अन्याय भएको र न्याय पाउनुपर्ने बताएका छन्।
०००
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले आजपनि प्रतिनिधि सभामा अवरोध गरेका छन्। गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनीहरूले चेतावनी दिएका छन्।
विपक्षीहरूको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका थिए। अर्को बैठक बिहीबार दिउँसो साँढे १ बजेका लागि तोकिएको छ।
भोलि जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले सरकारले भोलिको संसद बैठकमा बजेट प्रस्तुत गर्दैछ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा प्रमाण जुटाउन थालेको छ। सांसदहरू शिशिर खनाल र सोबिता गौतमले घुस खुवाएर भिजिट भिसामा जानुपरेको भए प्रमाण पठाउन सार्वजनिक अपिल गरेका छन्।
सांसद गौतमले अब ‘अन्याय सहेर बस्ने नभइ, बोल्ने र बदल्ने समय आएको’ बताउँदै भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन अपिल गरेकी छन्। उनीहरूले इमेलमार्फत प्रमाण पठाउन आग्रह गरेका छन्।
०००
न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आइपुगेका छन्।
उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए। नेपाल आइपुगेलगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दैछन्।
त्यस्तै उनले परराष्ट्रमन्त्री डा. आरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। यो भ्रमण न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री तहबाट भएको नेपालको पहिलो औपचारिक भ्रमण हो।
०००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सबै दूतावासहरूलाई विद्यार्थी भिसा आवेदनहरू बन्द गर्न निर्देशन दिएका छन्।
यसअघि हार्वर्ड विश्वविद्यालयलाई सरकारी अनुदान कटौती र विदेशी विद्यार्थी भर्ना गर्न रोकेका ट्रम्पले अब सबै विद्यार्थी भिसा बन्द गर्ने आदेश दिएका हुन्। यद्यपि यो आदेश केही समयका लागिमात्रै भनिएको छ तर कति समयका लागि बन्द गरिएको भनेर स्पष्ट गरिएको छैन।
पहिला नै भिसा एप्लाइ गरेका विद्यार्थीहरूको पनि सामाजिक सञ्जालमाथि व्यापक छानबिन भइरहेको ट्रम्प प्रशासनले जनाएको छ। जसकारण भिसा अनिश्चित भएको छ भने अन्तर्वार्ता पनि रोकिने भएका छन्।