प्रकाशमान सिंह र विमलेन्द्र निधि प्यानलबाट सहमहामन्त्रीमा परेन उम्मेदवारी 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा प्रकाशमान सिंह र विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिइएको छ।

शेरबहादुर देउवा र शेखर कोइरालाको प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी परेको भए पनि सिंह र निधिको प्यानलबाट भने सहमहामन्त्री पदमा उम्मेदवारी नै परेको छैन।

सिंह प्यानलबाट सभापतिमा स्वयं सिंहको उम्मेदवारी परेको छ भने उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको हो। तर, आठ पद रहेको सहमहामन्त्रीमा भने सिंह प्यानलबाट उम्मेदवारी परेन।

यस्तै सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधिले पनि आफ्नो समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका छैनन्। उनको प्यानलबाट उसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन्।

सिंह र निधि प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी नदिए पनि देउवा र कोइराला समूहबाट भने पदाधिकारीका १३ वटै पदमा उम्मेदवारी परेको छ।

देउवा प्यानलबाट दुई जना रहने उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का र दुई जना नै रहने  महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।

आठ जना रहने सहमहामन्त्रीमा डिना उपाध्याय, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवनबहादुर शाहीको उम्मेदवारी परेको छ।

यसैगरी, कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङको उम्मेदवारी परेको छ भने महामन्त्री मीनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएका छन्।

कोइराला प्यानलबाटै सहमहामन्त्रीमा कमला पन्त, विकास लामा, जीवन परियार, रामकृष्ण यादव, देवराज चालिसे, शेख वकिल, तेजुलाल चौधरी र बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।

शनिबार मनोनयन दर्ता गराएकाहरूले आइतबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम छ। आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ भने मध्यानह सवा १२ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

शनिबार नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-12-12 11:03:00

प्रतिकृया दिनुहोस्