अमेरिकामा रहेका नेपालीको वर्गमा केही समान विशेषताहरु पाइन्छन्। त्यस्ता साझा विशेषतामध्ये मैले महसूस गरेका केही यस्ता छन्– आफूलाई हुने फाइदा वा वेफाइदा अनुसार हरेक घटनालाई आफूअनुकूल व्याख्या गर्नु, नखाउञ्जेल भोकले आलसतालस हुनु त र खाएपछि अल्छि वा निन्द्रा लाग्नु, हरेक नेता वा सेलिब्रेटीहरूसँग कुनै न कुनै प्रकारको सम्बन्ध र अनुभव हुनु, आफ्ना नातेदारबाहेक सबैलाई भ्रष्ट देख्नु, आफ्नो परिवारका बाहेक सबै महिलाको चरित्र हत्या सजिलै गर्नु, अरुले सुरु गरेको हरेक नयाँ प्रयास आफूले पहिले नै गर्न खोजेको दाबी गर्नु, हरेक ठूला व्यापारिक घरानाहरूमा निकै पहिले आफूलाई काम गर्ने प्रस्ताव आएको तर नगरेको स्मरण गर्नु आदि।
उक्त विशेषताहरू नेपालीमा मात्र हुने हो कि अरु देशका मान्छेमा पनि हुने गरेको छ, त्यो मलाई जानकारी छैन। के चाहिँ सत्य हो भने माथि उल्लिखित सबै विशेषताहरू मभित्र भन्ने सुरुमै स्वीकार गर्दछु।
पहिलो वर्गमा वैध बाटोबाट आएका उच्च शिक्षितहरू पर्छन्। यिनीहरूको राम्रो जागिर र कमाइ छ। यिनीहरूलाई आफ्नोनजिकका मान्छेसँग बाहेक अरुसँग कुनै सम्बन्ध राख्नु छैन। यिनीहरूको गतिविधि कसैलाई थाहा पनि हुँदैन। यिनीहरूको सम्पर्क सीमित मान्छेसँग मात्र हुन्छ। यिनीहरू आफूले गरेको प्रगति अरुलाई देखाउने वा सुनाउने गर्दैनन्।
दोश्रो वर्गमा वैध वा अवैध बाटोबाट आएर ठूलो सङ्घर्षपछि आर्थिक रूपले आफ्नो व्यवस्था गरेकाहरू पर्दछन्। यिनीहरूको नेपालमा अर्बौं डलर लगानी गर्ने हैसियत छैन तर कसैसँग माग्नु पनि पर्दैन।
यो वर्गमा पर्नेहरूको सबैभन्दा ठूलो समस्या पहिले आफूसँगै सङ्घर्ष गर्दाका मित्रहरूसँग सम्बन्ध राख्ने कि नराख्ने भन्नेमा छ। सम्बन्ध राखूँ, भर्खर धनाढ्य भएको समूहमा इज्जत जाला भन्ने डर, सम्बन्ध नराख्ने हो भने पहिले आफ्नो हैसियत त्योभन्दा तल भएको र त्यसैले धेरै पटक सहयोग गरेको हुन्छ।
घर र मेरो बारीमा फलेको फर्सी भनेर रङ्ग न ढङ्गका फोटो फेसबुकमा अपलोड गर्ने, फलानो र ढिस्कानो संघको सदस्य भनेर दुईपैसे संगठनको गतिविधिमा समय बर्बाद गर्ने, शरीरमा नमिल्ने लुगा लगाएर आफ्नो पनि बेइज्जत गर्ने र अरुलाई पनि असुविधा दिने, छोराछोरीको नाम अँग्रेजीमा राख्ने जस्ता क्रियाकलाप गर्ने र त्यसको सूचना सामाजिक सञ्जालमा राखेर नेपालमा भएका इष्टमित्रहरूलाई फूर्ति लगाउनेहरू यो वर्गमा पर्छन्।
तेश्रो वर्गमा वैध वा अवैध बाटोबाट आएका र खासै आफ्नो व्यवस्था गर्न नसकेकाहरू पर्छन। प्राय: यो वर्गकाहरूले भारतीय, पाकिस्तानी र नेपालीहरूको सानो चमेनाघर, किराना पसलहरूमा काम गर्छन् र आफ्नो गुजारा चलाएका हुन्छन्।
यी प्राय: पदेन 'म्यानेजर' हुन्छन्। रेस्टुरेन्टमा भात पोको पार्ने र चर्पीको भुइँ पुछ्ने काम गरे पनि नेपालतिर आफन्तहरूलाई 'म म्यानेजर हुँ' भन्नु यिनीहरूको दिनचर्या हो।
यसै वर्गकाहरूले आफूलाई नामको अगाडि पत्रकार, सामाजिक अभियन्ताको फुर्को जोड्ने गर्छन्। आफ्नो काम खुरुखुरु नगरेर फलानो महामन्त्री र ढिस्कानो सचिव हुनुपर्ने भनेर नि:शुक्ल प्रचार गर्ने कथित नेताका आधुनिक कमारो हुन्।
चौथो वर्गमा वैध बाटोबाट आएर पूर्वयोजनाअनुसार अवैध भएकाहरू पर्छन्। यिनीहरूको कमाईको अधिकांश हिस्सा नेपाल जाने गर्नाले यिनीहरूको जीवनस्तर बडो चिन्ताजनक छ। ज्यान फालेर काम गर्नु, त्यो पैसा सर्लक्क नेपाल पठाउनु र श्रीमतीको चरित्र कस्तो छ भनेर बुझ्नु, आफ्ना जासूसहरूको रिपोर्टिङ्गअनुसार फोन गरेर श्रीमतीलाई गाली गर्नु पनि यिनीहरूको दिनचर्या हो। आफ्नो श्रीमती कसैसँग बोल्यो भने त्यसको चरित्रमाथि शंका गर्नेहरू यहाँ हरेक खैरेनीहरूसँग यौन–सम्बन्ध राख्ने चाहना राख्छन् तर प्राय: असफल रहन्छन्।
पाचौँ वर्गमा अवैध बाटोबाट अर्थात् नेपालदेखि अमेरिकासम्म हिँड्दै, लड्दै, घस्रेर, चेप्टिएर अमेरिका पुगेकाहरू हुन। यिनीहरूलाई काम गर्ने ठाउँको मालिकले बिहान गाडीमा हालेर काम गर्ने स्थलमा पुर्याउने र बेलुका बस्ने ठाउँमा ल्याउने गर्छ। यिनीहरू एउटै कोठामा तीन–चार जनासम्म बस्छन्।
कामबाट आएपछि नेपालमा भएका आफन्तहरूलाई ठूल्ठूलो गफ दिनु र मालिकको सुन्दरी श्रीमती वा छोरी सम्झेर कल्पिनु यिनीहरूको काम हो। यिनीहरू अमेरिका बस्नु र नेपालको कुनै दुर्गम स्थानमा बस्नुमा कुनै भिन्नता छैन।
सबैभन्दा अन्तिम वर्गमा 'अमेरिकामा चल्छ' भन्ने कुरामा विश्वास गर्ने वर्ग पर्छन्। यो वर्गमा दुई वर्ष अगाडिसम्म बाउजस्तो भिनाजु भन्ने तर त्यही भिनाजुसँग पोइल गएर दोश्री श्रीमती बन्ने, पोइल गएकी श्रीमतीलाई फर्काएर ल्याउने र गल्ती माफ गर्नुपर्छ भनेर कुर्लिने, आफ्नो काम गर्ने साहुसँग श्रीमती सल्किँदा पनि चूपचाप बस्ने जस्ता अत्याधुनिक प्राणीहरू यो वर्गमा पर्छन्।यिनीहरूलाई केवल पैसा भए पुग्छ। कसैले केही भन्यो भने अमेरिकामा चल्छ भनेर लाज पचाउने गरेका छन्।
(डिस्क्लेमर: माथि उल्लेखित सम्पूर्ण प्रकरणहरू वास्तविकतामा आधारित छन्। कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा म आफूलाई भाग्यमानी सम्झिने छु।)