देशको माया नभएका, अर्काको देशमा भाडा माझ्ने, मुग्लान भासिएको, दोश्रो दर्जाको नागरिक जस्ता र अरु पनि अनेकौँ तुच्छ शब्द हरुले विभूषित हुन् पाउँछौँ– हामी विदेशमा बस्ने नेपालीले। कुनै ठूलै अपराध गरेर यस्तो शब्दवाण खप्नुपरेको हो कि आफू आउन नपाएको पीडा बोलेको हो, त्यो चाहिँ सम्बन्धित व्यक्तिबाहेक अरु कसैलाई थाहा हुँदैन।
झूटो बोलेर आत्मद्रोह गर्ने हो भने कसैको केही लाग्दैन तर नेपालजस्तो अविकसित देशको मान्छे सुविधा सम्पन्न देशमा बस्न पाउनु अहोभाग्य हो– मेरो विचारमा। कोही–कोही हामी रहरले होइन, बाध्यताले बसेका हौँ भनेर आफूलाई महान् देखाउन खोज्छौँ। त्यो कुरा पनि ब्यर्थ हो।
अन्य देशका बारे मलाई जानकारी भएन तर अमेरिकामा जुनसुकै व्यक्तिले जुनसुकै समयमा म स्वदेश फर्किन्छु भन्छ भने सजिलै फर्किन सक्छ। कसैले पनि पाखुरामा समातेर 'तँ जान पाउँदैनस्' भनेर रोक्दैन।
जहाँसम्म देशको मायाको कुरा छ, त्यो भनेको के हो ? सबैभन्दा पहिलो कुरा आफू समर्थ हुनुपर्यो। त्यसपछि मात्र देश, समाज र परिवारको मायाको कुरा सान्दर्भिक हुन्छ। आफूले दैनिक खाने र लाउने कुराकै निमित्त अरुको मुख ताक्नुपर्ने अवस्था भएको मान्छेले यस्ता ठूला–ठूला कुरा गरेको शोभा दिँदैन। यस्ता कुराको कुनै अर्थ पनि हुँदैन।
देशको माया हुनेले देशका लागि कुनै योगदान पनि दिन सक्नुपर्यो। देशकै लागि भार भएकाहरुले देशको मायाको कुरा गर्नुको औचित्य छैन। एकपटक हामी सबैले इमान्दारीपूर्वक सौचौँ– सही सूचना नपाएर वा अनेकौँ प्रयास गर्दा पनि नसकेर देशमा बसेको हो कि वास्तविक रुपमै देशको माया लागेर बसेको हो ? सबैलाई भन्दै हिँड्नुपर्ने होइन, आफूले आफैँसँग सोधे हुन्छ।
एउटा तथ्य भनिदिनु उचित हुन्छ– सन् १९९९ यता अमेरिकाको भिसाको लागि कस–कसले निवेदन दियो ? को सफल वा असफल भयो भनेर एक क्लिकमा हेर्न सकिन्छ। फोटोसहितको विवरणलाई पनि यो मेरो हुँदैहोइन भनेर जिद्दी गर्छ भने त्यो उसको स्वतन्त्रता हो तर त्यस्ता कुराको कुनै महत्व हुँदैन।
विदेशमा गएर भाँडा माझ्ने भन्नुको अर्थ तुच्छ कामको प्रतीकमा भनेको हो भन्ने मेरो बुझाइ छ। काम सानो वा ठूलो त हुन्छ तर जोसँग जस्तो क्षमता छ त्यस्तै काम गर्ने हो। चाहे त्यो देशमा होस् चाहे त्यो विदेशमा।
यता पनि अति उच्च स्तरको काम गर्ने नेपाली नभएका होइनन् तर यस्तो काम पाउन यतैको विश्वविद्यालय वा अन्य देशको प्रख्यात विश्वविद्यालयमा अध्यन गरेको हुनुपर्छ। जसरी नेपालमा एउटै तहको परीक्षा दश वर्ष लगाएर उत्तीर्ण गरेको प्रमाणपत्रको कुनै काम छैन।
यता, अध्यनपश्चात् पनि कुनै काम गर्न राज्य स्तरको परीक्षा दिएर लाइसेन्स लिनुपर्छ। चाहे त्यो 'प्लम्बर' होस् कि डाक्टर ! यदि त्यो परीक्षा उत्तीर्ण गर्न नसकेर लाइसेन्स पाएन भने उसले त्यो काम गर्न पाउँदैन। त्यस्तो लाइसेन्स प्राप्त गर्न नसकेर डाक्टरले ट्याक्सी चलाएको र इञ्जिनीयरले पेट्रोल पम्पमा तेल भरेर बसेको मैले देखेको छु, भलै उसले आफ्ना परिचितहरुसँग यो सत्य लुकाएको किन नहोस्। एउटा कुरा सत्य के हो भने जति सुकै सानो काम गरे पनि जीवन आरामले चल्छ।
मुग्लान भासिएको भनिए पनि आफ्नो जीवनस्तर राम्रो होस् भनेर बसाइँसराइ गर्ने प्रचलन परापूर्वकाल देखिको हो। गाउँबाट शहरबजार/ सदरमुकाम वा र सदरमुकामबाट राजधानी आउने क्रम अहिले पनि रोकिएको छैन। रोकिने पनि छैन तर देशबाट विदेश गयो भने अनेक प्रकारको तुच्छ शब्द किन बोलिन्छ। मैले यो बुझ्न सकेको छैन।
भनिन्छ– विश्व नै एउटा गाउँ भइसकेको छ तर आफ्नो जीवनस्तर योभन्दा राम्रो होस् भनेर विदेश गयो भने गाली खानुपर्ने के त्यस्तो अपराध हो? आजको समयमा पैसा, समय र इच्छा भयो भने दुई दिनसम्ममा संसारको जुन सुकै कुनाबाट पनि नेपाल आउन सकिन्छ। पौराणिक युगमा जस्तो हिँडेर आउनु पर्ने होइन। यद्यपि हाल पनि नेपालदेखि नै हिँडेर अमेरिका आउने क्रम जारी छ। जतिसुकै कडाइ गरे पनि यो क्रम रोकिएलाजस्तो देखिंदैन।
यो संसारमा दोश्रो दर्जाको नागरिक भन्ने नै हुँदैन। कि ऊ त्यो देशको नागरिक हुन्छ वा हुँदैन। देशैपिच्छे जन्मसिद्ध र अङ्गीकृत नागरिक भन्ने हुन्छ। उनीहरुका सीमा हुन्छन् तर पनि सामान्य रुपमा राज्यले दिने सुविधा लगभग उस्तै हो।
अमेरिकाको हकमा कुनै अङ्गीकृत नागरिक देशको राष्ट्रपति हुन् सक्दैन। अब कसैले यसैलाई भनेको हो भन्छ भने उसको बौद्धिक क्षमताको लागि हार्दिक अभिवादन गर्नुबाहेक मसँग अर्को कुनै उत्तर छैन।
नियम–कानुनको परिधिभित्र रहेर आफ्नो काम गर्ने हो भने अमेरिकामा सबै मान्छे बराबर हुन्। यहाँ आफूले कानूनको बर्खिलाप कुनै क्रियाकला वा गतिविधि गरेन भने कसैले केही गर्न सक्दैन। यदि यो अवस्थामा कसैले केही हानी गर्यो भने उसको हरिबिजोग हुन्छ।
नेपालमा जस्तो राष्ट्रपति छोरी–ज्वाइँ लिएर घुम्न निस्कदा घन्टौ सडक बन्द भएर यता–उता गर्न नपाउने प्रथम दर्जाको नागरिक हो कि स्वतन्त्र भएर आफ्नो काम गर्न पाउने प्रथम दर्जाको नागरिक हो ? त्यो छुट्याउने जिम्मा पाठकहरुलाई छाड्न चाहन्छु।
जो देशको मायाले ओतप्रोत भएका छन्, उनीहरु देशमा बसुन्। जसलाई विदेशमा बस्न मन लाग्छ उनीहरु विदेशमा बस्छन्। यो व्यक्तिगत स्वतन्त्रता र उसले पाउने अवसरमा भर पर्छ। यद्यपि विदेशमा बस्नेलाई देशको माया हुँदैन भन्ने कुरामा मलाई विश्वास लाग्दैन। देशको मायाको एकहोरो रट लगाउने तर देशका लागि झिँगा मार्न नसक्नेभन्दा देशबाहिर बसेर व्यक्ति एउटा र उसको परिवारको मात्र जीवनस्तर माथी उठ्यो भने पनि त्यो देसको माया हो भन्ने मेरो बुझाइ छ।
सकारात्मक विरोध गर्न पाइन्छ तर हरेक वर्ष डीभी लोटरीको फाराम भर्दा–भर्दा थाकेर असफल भएको झोकमा विदेशमा बस्नेलाई हाँसोमा उडाउनु भनेको त्यो व्यक्तिको बौद्धिक दरिद्रता हो।
नेपालको जस्तो एसएलसी पास नभएको व्यक्ति प्रधानमन्त्री, आठ कक्षा पास नगरेको व्यक्ति वरिष्ट पत्रकार, अर्काको थेसिस हुबहु सारेर पीएचडी गरेका व्यक्ति विश्वविद्यालयको उप–कुलपति र दिनभरि घरमा सुतेर बस्ने तर राती–राती हजारौँ रुपैयाँ रक्सी मा खर्च गर्ने व्यक्तिहरु अमेरिकामा हुँदैनन्। यस्ता रहस्यमय मान्छेका लागि भने नेपाल स्वर्ग छ। उनीहरुको लागि अमेरिकामा कुनै काम छैन।
अन्त्यमा, केही वर्ष पहिले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकामा सबै नेपालीले भाडा माझ्छन् अर्थात् तुच्छ काम गर्छन् भनेर आफ्नो बौद्धिक दिवालियापनको प्रदर्शन गरेका थिए। अब उनका छोरीज्वाइँले भाडा माझ्छन् कि भाडा बनाउने काम गर्छन्, त्यो मलाई जानकारी भएन।
मलाई पनि मेरा केही नातेदार र कथित आफन्तहरुले फलानोले भाडा माझ्छ अर्थात् तुच्छ काम गर्छ भनेर आत्मरतिमा डुबेको सुनेको छु। आज म यसै आलेखमार्फत् उहाँहरुलाई म भाडा माझेरै बसेको छु भन्ने जानकारी गराउन चाहन्छु। हो, म भाडा नै माझ्छु, कसैलाई कुनै समस्या छ?