नेपाल फेरि डीभीमय भएको छ। बजार, सडक र चोकका कुन–कुना 'डीभी चिठ्ठाको फाराम भर्ने सूचना' सहितका सन्देशहरुले भरिएको छ। अमेरिका आउने अरु उपाय नभएका र आउन इच्छुक व्यक्तिहरुको लागि यो सुवर्ण मौका हो।
कानूनी रुपमा अमेरिकामा बसोबास गरिरहेका तर जनसङ्ख्या ५० हजार नपुगेका हरेक देशबाट भित्र्याई जातीय विविधता ल्याउने उद्देश्यले चिठ्ठाको माध्यमबाट कानूनी रुपमा अमेरिका ल्याउने कार्यक्रम लाई 'डाइभर्सिटी भिसा प्रोग्राम' भनिन्छ। यसैको छोटकरी रुप डीभी हो। केही वर्षदेखि इन्टरनेटको माध्यमबाट उक्त फाराम भर्नुपर्ने भएकोले चलनचल्तीको भाषामा 'इडीभी' भनिएको हो।
गल्ली–गल्लीमा खुलेका डीभी लोटरीको फाराम भर्ने 'कन्सल्टेन्सी'हरूले चर्को शुल्क लिएर यस्तो फाराम भर्ने गरेका छन्। चिठ्ठा परेकाहरुलाई नक्कली कागजात बनाउने गरेकोले अमेरिकी दूताबासले आफ्नो आधिकारिक ट्विटर पेज– 'यूएस एम्बेस्सी नेपाल' बाट एउटा सूचना नै जारी गरेको छ।
उक्त सूचनामा भनिएको छ, 'भिसा कन्सल्टेन्सीहरू जहिले पनि तपाईँबाट बढी पैसा असुल्न खोजिरहेका हुन्छन्। उनीहरूको लहै–लहैमा नक्कली कागजात लिने काम नगर्नुहोस्। उनीहरूले दिएका प्रमाणपत्रहरू कुनै पनि कामका हुँदैनन्। यस्ता प्रमाणपत्रहरू पेश गर्नुभयो भने तपाईँ सधैँभरिका लागि अमेरिका जानका लागि अयोग्य बन्नुहुने छ।'
डीभी लोटरी परेकाहरुले शैक्षिक प्रमाणपत्रहरु नक्कली पेश गर्ने क्रम बढेपछि दूतवासको यस्तो चेतावनी आएको हो। यस्तो सूचना आफैँमा हाम्रोलागि लज्जाको विषय पनि हो। यो फाराम कुनै शुल्कबिना आफैँले भर्न सकिन्छ। यसको लागि कन्सल्टेन्सी धाएर अनावश्यक पैसा खर्च गर्नु मुर्खता मात्र हो।
यो चिट्ठा पर्दैमा अमेरिका आउने भिसा पाउने शत प्रतिशत ग्यारेन्टी हुँदैन। चिठ्ठा परेपछि पनि करिब नौ महिनादेखि एक वर्षसम्मको समय लगाएर र विभिन्न चरणका अनेकौँ बाधा पार गरेपछि अन्त्य मात्र भिसा लाग्छ।
केही वर्षपहिले चिठ्ठा परेका व्यक्तिहरुले अत्याधिक खुशी हुँदै 'अब अमेरिका जाने हो' भन्दै जागिर छोड्ने, घर–जग्गा बेच्ने र नातागोता र आफन्तहरुलाई भोज खुवाउने गरेर पछि भिसा नलाग्दा 'हामीलाई जसरी भए पनि अमेरिका लग्नुपर्छ' भनेर अमेरिकी दूतावासअगाडि धर्ना बसेका थिए।
नेपाल डीभी पिडित संघको नाममा गरेको त्यो मूर्खतापूर्ण कार्यले उनीहरुको अमेरिका जाने सपना त पूरा भएन तर धर्नाकारीहरु र देशको भने राम्रैसँग इज्जत लिलाम भयो।
त्यसको अर्को वर्ष अमेरिकी दूतावासले डीभी चिठ्ठा पर्दैमा घर जग्गा बेच्ने, जागिर छोड्ने र भोज खुवाउने नगर्न अनुरोधसहितको सूचना प्रकाशित गरेको थियो। अब यस्तो सूचनाले हाम्रो देशको बारेमा कस्तो सन्देश देला, त्यो विद्वत पाठक वर्गले आफैँ सोच्नुहुनेछ भन्ने आशा गरेको छु।
डीभी परेर भिसा लागे पनि यस्तो भिसाले अमेरिका प्रवेश गर्न र त्यहाँ कानुनी रुपमा बसोबास र काम गर्ने सुविधा दिने हो। नेपालमा 'कन्सल्टेन्सी'हरूले भनेको जस्तो सरकारले नै घर, काम आदि सुविधा दिने भन्ने कुरा शतप्रतिशत गलत हो।
आफ्नो क्षमता र योग्यता जति छ, त्यसैअनुसारको काम गरेर जीविका चलाउनुपर्छ। त्यो काम पनि आफैँले खोज्नुपर्छ। यसका साथै जसलाई डीभी पर्छ। उसले अर्को नातेदारलाई पनि अमेरिका लग्न सक्छ भन्ने पनि ब्यर्थको हल्ला हो। डीभी परेको व्यक्तिसँग पहिलोपटक अमेरिका आउनसक्ने भनेको चिठ्ठा पर्नेको श्रीमान वा श्रीमती र २१ वर्ष नपुगेका अविवाहित छोराछोरी मात्र हो।
त्यस्तै, केही कन्सल्टेन्सीहरूले 'हाम्रो सेटिङ्ग छ र हाम्रोमा फाराम भर्दा चिठ्ठा पर्ने सम्भावना रहन्छ' भनेर पनि ठगिरहेका छन्। त्यो पनि सर्वथा ठगी नै हो।
चिठ्ठा भनेकै पर्ने सम्भावना कम र नपर्ने सम्भावना बढी भएकोले हरेक वर्ष यस्तो फाराम भर्नेहरुले पनि 'मैले त भरेको छैन' भनेर झूट बोल्दै आत्मद्रोह गरेको पाइन्छ तर पंक्तिकारको विचारमा यो कुनै लज्जाको विषय होइन। विश्वका धेरै देशलाई यस्तो सुविधा छैन। अमेरिकी सरकारले दिएको यो सुविधा प्रयोग गर्दा राम्रै हुन्छ। फाराम नै नभरेको मान्छेलाई चिठ्ठा पर्ने कुरा नभएको कारणले अमेरिका आउने इच्छा भएकाहरुले मौकाको उपयोग गर्नु अनुचित होइन।
हरेक वर्ष यस्तो फाराम भर्दा भर्दा चिठ्ठा नपरेपछि मलाई अमेरिका आउने मन नै छैन भनेर भन्नु पनि बेकार हो। यदि इच्छा हुँदैमा मात्र कुनै नेपाली नागरिक अमेरिका आउन सक्थ्यो भने हालसम्म नेपाल खाली भइसक्थ्यो। हामी नेपालीलाई कानुनी रूपमा अमेरिका आएर बसोबास र काम गर्न पाउने सम्भवत: सबैभन्दा सजिलो उपाय डीभी चिठ्ठाको फाराम भरौँ। भाग्यले साथ दिएमा आफ्नो इच्छा पूरा गरौँ।
यदि कसैलाई अमेरिका आउने इच्छा छैन भने कसैले पनि पाखुरा समातेर आउनैपर्छ भनेर जिद्दी नगर्ने भएकोले 'मलाई इच्छा छैन' भनेर कराउनुको कुनै तुक छैन। डीभी चिठ्ठाको फाराम भर्नुभएका र भर्ने योजना गर्नुभएकाहरु सबैलाई शुभकामना सहित अमेरिकामा स्वागत छ।