अमेरिका, अङ्ग्रेजी र मेरो अल्पज्ञान

Breaknlinks
Breaknlinks

मलाई अंग्रेजी भाषा सधैँ आकर्षक, कठिन र रहस्यमय लाग्छ किनकि मलाई न अंग्रेजी बोल्न, पढ्न र लेख्न आउँछ न त कसैले बोलेको नै बुझ्छु। तर, कतिपय अवस्थामा आफ्नो 'स्ट्याण्डर्ड मेन्टेन' गर्न पनि बुझेकोजस्तो गरेर टाउको हल्लाउनुपर्ने बाध्यता छ।

म काठमाडौँको एउटा साधारण स्कुलमा पढेको अर्द्धशिक्षित व्यक्ति हुँ। घरमा परिवारसँग र आफैँजस्ता साथीहरुसँग अंग्रेजीमा कुरा गर्ने न मौका मिल्यो न त त्यत्ति व्यवहारिक नै हुने भयो।

अंग्रेजीको साउँ अक्षरको ज्ञान भए पनि म निकै ठूलो हुन्जेलसम्म सानो एबीसीडीभन्दा ठूलो एबीसीडी कति वर्ष जेठो होला भन्ने अलमलमा थिएँ। लाज लागेर शिक्षकलाई सोध्ने कुरा हुन्थेन। साथीहरुलाई सोधेमा उनीहरु पनि लगभग सबै आफूजस्तो हुन्थे, के सोध्नु? 

१० कक्षाको अंग्रेजी पुस्तक 'इङ्गिश रिडर' मा भएको एउटा पाठ 'हाउ भैरव सेभ्ड राम सिंहस् लाइफ'को भैरव र राम सिंहबाहेक कुनै कुरा नबुझेको पनि अस्तिजस्तै लाग्छ।

मलाई अंग्रेजी किताब पढिरहने, अंग्रेजी बोल्ने, अंग्रेजी सिनेमा हेरेर त्यसको कुरा गर्ने र अंग्रेजी गीत सुन्ने मान्छे निकै महान हो जस्तो लाग्थ्यो। त्यसैले आफू पनि त्यस्तै महान भइन्छ कि भनेर अंग्रेजी नबुझे पनि बुझेको जस्तो र यो भाषामा अभ्यस्त भएकोजस्तो गरेर मान्छेहरुको आँखामा 'विशेष' देखिनको लागि कस्ता कस्ता ढोँग र नाटक गरियो। त्यो सम्झँदा अहिले हाँसो उठ्छ।

भुटिभाङ्ग नबुझे पनि अंग्रेजी सिनेमा हेरिन्थ्यो। सिनेमा हेरेर आएपछि आफैँले मनचिन्ते कथा बनाएर साथीहरुलाई गफ दिइन्थ्यो तर वास्तविकता के भने सिनेमा हेर्दा म सधैँ पर्दामा होइन कि सँगै बसेका दर्शकहरुको अनुहारमा हेर्थें– किनकि उनीहरुले कुन बेला कस्तो हाउभाउ गर्छन् त्यसको नक्कल गर्न।

उसै पनि पर्दामा हेरेर त्यो सिनेमाको कथा बुझ्ने होइन। आधा लिटर दूधको एक रुपैयाँ ५० पैसा मूल्य भएको समयमा २५ रुपैयाँ तिरेर अंग्रेजी गीतका अडियो क्यासेट पनि खरिद गरियो तर त्यो गीत सुन्नको लागि नभएर क्यासेटभित्र रहेको गीतको शब्द (लिरिक्स) हरुको लागि हुन्थ्यो।

रातभरि त्यो गीतको शब्दहरु रिठ्ठो नबिराई कण्ठ गरेर भोलिपल्ट साथीभाइको बीच सुनाउँदा आफू विशेष मान्छे भएको जस्तो भान हुन्थ्यो। अहिले लाग्छ बरु त्यो मेहनत पाठ्यपुस्तक पढ्नमा गरेको भए कुनै उपलब्धि त हुन्थ्यो।

पञ्चायत कालमा मेरा एक नातेदार परराष्ट्रमन्त्री थिए। उनी बस्ने पुल्चोकस्थित मन्त्री निवासमा न्युजबिक, टाइम, द इक्नोमिस्ट, एसिया विक जस्ता रङ्गीन अंग्रेजी पत्रिकाहरु असरल्ल फालिएका हुन्थे। त्यो कसैले पढ्थे वा पढ्थेनन्, मलाई थाहा भएन तर म त्यहाँ गएको बेला पुराना पत्रिका लिएर आउँथेँ। स्कुल जाँदा त्यो पत्रिका लिएर गएर साथीभाइलाई देखाउँदा आफ्नो इज्जत बढेजस्तो भान हुन्थ्यो– उनीहरुलाई 'अहो यसले त अंग्रेजी पत्रिका पनि पढ्दो रहेछ' भन्ने इर्ष्या हुन्थ्यो किनकि त्यो समयमा त्यस्ता रङ्गीन पत्रिकाहरु नेपालबाट प्रकाशित हुन्थेनन्।

कुनै–कुनै बेला किलागलमा रहेको 'सन्देश गृह' नामक पत्रिका पसलबाट त्यस्ता पत्रिकाहरु पनि खरीद गरियो। त्यो पत्रिका बेरेर हातमा लिएर पनि हिँडियो तर पढ्न होइन कि अरुको अगाडि खोक्रो फूर्ति गर्न।

मेरा अर्का नातेदार थिए– नैनीताल (भारत) मा बस्ने। उनीहरु बडो आकर्षक शैलीमा अंग्रेजी बोल्थे। हरेक कुराको सुरुवात 'यु नो' (थाहा छ ?) बाट सुरु गरेर कुराको अन्त गर्दा 'रियल्ली?' ( सत्य हो?) भन्थे।

मलाई त्यो शैली यति गज्जबको लाग्थ्यो कि मैले पनि त्यस्तै नक्कल गरेको थिएँ, भलै त्यो शब्दको अर्थ मलाई थाहा थिएन। साथीभाइको अगाडि 'अहो यो पनि अंग्रेजी बोल्दो रहेछ' भन्ने ढोँग गर्नु थियो। गरियो।

म केटाकेटी हुँदा आफूजस्तै तर अंग्रेजी स्कुलमा पढ्ने नातेदारका छोराछोरीहरु निकै अचम्मका प्राणी होलान् जस्तो लाग्थ्यो। उनीहरु आपसमा के–के कुरा गर्थे, जसको बीच–बीचमा अंग्रेजी शब्दहरु घुसेको हुन्थ्यो।

कुरा गर्दै जाँदा जब अंग्रेजी शब्द बीचमा फ्याट्ट आउँथ्यो, पहिलेको कुराको क्रम भङ्ग भएर सबै कुरा बुझ्न कठिन हुन्थ्यो। उनीहरुले गाउँने गीत, उनीहरुले हेर्ने सिनेमाको कलाकार र उनीहरुले पढ्ने बालकथा मेरा लागि भिन्नै हुन्थे तर उनीहरुको 'होमा हो' मिलाउन मैले कहिले पनि आफूले नबुझेजस्तो गरिनँ।

कलेज पढ्दा आफूलाई एउटा अनिवार्य अंग्रेजीले त धुरु–धुरु रुवाएको थियो। त्यसमा अर्को अंग्रेजी पढ्ने भन्ने त कुरै थिएन तर जसले इच्छाधीन विषयमा पनि अंग्रेजी छानेका थिए। उनीहरुलाई अलि सम्मानको दृष्टिबाट हेरिन्थ्यो। यधपि त्यस्ता विद्यार्थीहरुको संख्या निकै कम हुन्थे। कतिले त पहिले के–के न हो जस्तो गरेर अंग्रेजी विषय छानेकोमा पनि पछि कुनै दाल नगलेर अर्थात् नसकेर नेपाली नै पढ्न थालेका थिए।

हामी कीर्तिपुरमा पढ्दा नेपाली माध्यमबाट परीक्षा दिने र अंग्रेजी माध्यमबाट दिनेबीच निकै ठूलो भेद थियो। अंग्रेजीबाट परीक्षा दिन्छु भन्ने दाबी गर्नेहरु आफूलाई कुनै नयाँ ग्रहबाट झरेको प्राणी हुँ कि जस्तो गरेर ढल्की–ढल्की हिँड्थे र धेरै कम मान्छेसँग कुरा गर्थे– त्यो पनी 'यस' र 'नो' शैलीमा।

मलगायत नेपाली भाषामा परीक्षा दिने तयारीमा रहेकाहरु भने आफ्नो अंग्रेजी भाषामा रहेको कमजोर दखलप्रति दु:खमनाउ गरेर आफूले आफैँलाई हीन प्राणी सम्झिने गरिन्थ्यो यद्यपि अंग्रेजी भाषामा परीक्षा दिन्छु भनेर गमक्क गम्किनेहरुले पनि पछि नेपाली भाषामा नै लेखिरहेको देखियो। त्यो बेग्लै कुरा हो।

अहिले म अमेरिकामा छु तापनि मलाई अंग्रेजी बोल्न आउँदैन। राम्रोसँग बुझ्दिनँ पनि। मैले बोलेको 'ब्रोकन इङ्गलिश' न यहाँ कसैले बुझ्छहोला न त मैले उनीहरुले बोलेको नै बुझ्छु तर यहाँ मुसुक्क हाँसेर जे बोले पनि हुन्छ र मेरो काम चलिरहेको छ।

अंग्रेजी भाषामा दखल हुनु आफैँमा अति राम्रो पक्ष हो तर पनि अमेरिकामा अंग्रेजी बोल्न नजान्दा र नबुझ्दा पनि कुनै फरक पर्दैन। तपाईंले अंग्रेजी बोल्न जान्दिनँ र बुझ्दिन भन्नुभयो भने सरकारले नै दोभाषेको व्यवस्था गरिदिन्छ।

यहाँ पाँचपुस्तादेखि बसोबास गरिरहेका चिनियाँ मूलका व्यक्तिहरु आनन्दले आफ्नो पेशा तथा व्यापार गरेर बसेका छन्। उनीहरु फिटिक्कै अंग्रेजी बोल्न जाँन्दैनन्। बुझ्दैनन् पनि  तर उनीहरुलाई कुनै खास असुविधा परेको जस्तो देखिँदैन।

हामी अल्पसङ्ख्यक भएर होलाऽ नेपाली मात्र बोलेर गुजारा चल्दैन तर फाट्टफुट्ट बोलेर पनि मजाले काम चल्छ। लेख्नका लागि मात्र हो– सबै व्याकरण मिलाउनुपर्ने तर बोल्दा धेरै कुरा त हाउभाउ ले नै बुझिन्छ।

यहाँको अर्को राम्रो पक्ष के हो भने कसैले कसैलाई मैले तेरो भाषा बुझिनँ भन्नु गैरकानुनी हो। भलै हामी यहाँका मान्छेले नेपाली बुझिनँ भन्यो भने दौडेर कानुनी कारबाही गर्न जाँदैनौँ।

मेरो सम्पर्कमा रहेका कतिपय नेपाली यहाँ आएर नेपाली भाषा नै बिर्सन लागिसके तर म भने यसो अर्काको मुख हेर्ने, अनि उसको मुख हँसिलो छ भने 'यस यस' भन्ने तर उसको मुख अलि रिसाएको जस्तो छ भने 'नो नो' भन्ने शैलीमा काम चलाइरहेको छु। सायद म यो जुनीमा अङ्ग्रेजीमा फरर कुरा गर्न सक्दिनँ होला तर पनि मेरो प्रयास जारी छ।

अधिकांश नेपालीको मुखबाट रक्सी पेटमा पुग्नेबित्तिकै फर..र अंग्रेजी निस्किन्छ तर मेरो त महँगो रक्सी किनेर पिउने आर्थिक हैसियत नभएको कारणले त्यो बाटो पनि स्वत: बन्द भएको छ।

प्रकाशित मिति: : 2021-11-10 12:15:00

प्रतिकृया दिनुहोस्