सन् १९८३ मा मैले आफ्नो पहिलो उपन्यास 'विगतको परिवेशभित्र' बनारसमा छपाउँदा पेन्सनबाट आएको सबै पूँजी खर्चेको थिए। म त्यति बेला बडो उत्साही थिए। तर, मेरो उत्साह धेरै दिन टिकेन्। पुस्तकको मूल्य राखिएको थियो, २० रुपैयाँ। मलाई लागेको थियो, आफ्नो गाउँ परिवेशलाई लिएर लेखिएको हुनाले उपन्यासले राम्रै बजार पिट्ला?
तर, भयो उल्टो। पुस्तक प्रकाशित भएपछि किनिदिने कोहीँ भएन। आफ्नै समाजका मानिस पनि अनुदार भए। व्यक्तिगत चिनजानको आधारमा केही पुस्तक त बिक्री भयो। तर, समग्रमा निरासा हात लाग्यो।
सन् १९८६ मा मैले ४ सय पुस्तक एकै पल्ट जलाइदिए। यी पुस्तक मैले निराश भएर जलाएको पक्कै होइन, साहित्यप्रति समाजको दृष्टीकोण र चरित्रलाई उजागर गर्न पनि मैले यसो गरेको हुँ।
मैले नेपाली भाषा र साहित्यका लागि राम्रो गर्ने प्रयास गरेँ तर नेपाली समाजले बुझेन। समाजले मलाई उति बेलै चिनेको भए सम्भवत: अहिले सयभन्दा बढी किताब लेखिसकेको हुने थिए।
साहित्य एकेडेमीको सौजन्यमा सन् १९९२ मा मुम्बई डुल्न जाँदा जल्नबाट जोगिएको उपन्यासको दुईप्रति मैले आफूसँगै लिएर गएको थिएँ। एकप्रति मुम्बईको एक संस्थालाई उपहारस्वरुप दिएँ भने अर्कोप्रति प्रसिद्ध गायक उदितनारायण झालाई।
मेरो पहिलो उपन्यास सार्वजनिक भएको ३५ वर्ष पूरा भइसकेको छ। तर, यस अवधिमा अहिलेसम्म भारतेली नेपाली लेखकले, यसको समालोचना गरेका छैनन्।
सन् १९८३ मा गुवाहाटीबाट नेपाल पुगेका अविनाश श्रेष्ठले गुवाहाटीमा हुँदा हेम जोशीद्वारा सम्पादित 'अछेता' पत्रिकामा सानो भएपनि लेख छापेका थिए। यही साल गोविन्दसिंह रावतले पनि 'अछेता' पत्रिकामै मेरो उपन्यास शिलोङको फोटोकपी हो भनेर राम्रो समालोचना गरेका थिए।
तर, यो लेख उनले भारतमा बसेर नभई नेपालबाट लेखेका थिए। रावत मूलत: शिलोङ निवासी हुन्। उनी नेपालीमा एमए गर्न काठमाडौँ पुगेको बेला मेरो उपन्यासको समालोचना गरेका हुन्। हाल उनी क्यानाडामा बसोबास गर्छन्।
आसाममा बसोबास गर्ने दिदीकहाँ सन् १९८३ तिर भाइटीका मनाउन जाँदा मैले उपन्यासको केही कपी साथै लगेको थिए। त्यति बेला गुवाहाटीको पल्टन बजार नेपाली मन्दिरको नजिकै कृष्ण क्षेत्रीको पुस्तक पसल थियो।
नाम पनि हुने र दाम पनि कमाइने उद्देश्यले मैले कृष्ण भाइलाई पाँच प्रति पुस्तक आफ्नो पसलमा बिक्रीका लागि राखिदिन अनुरोध गरेको थिएँ। मेरो प्रस्ताव उनले स्वीकार पनि गरे। ठूली भाञ्जीकी नन्द पूर्णिमालाई पनि एकप्रति उपहार दिएको थिएँ।
पूर्णिमा लेखिका होइनन्, न उनी समालोचक नै हुन्। म शिलोङ फर्केपछि उनले मलाई चिट्ठी पठाइन्– उपन्यासको विषयमा मर्मस्पर्शी टिप्पणीसहित।
दिदीकहाँ हुँदा म कृष्ण भाइको पसल पुगिरहन्थेँ। मलाई देखेपछि उनी बुझिहाल्थे । उत्तर दिन्थे, 'दाइ, पुस्तक बिक्री भएको छैन।'
मेरो पुस्तक सबैले देखुन् र किनुन् भनेर उनी पसलको बाहिर उपन्यास झुन्ड्याउँथे। धेरै वर्षपछि तीन प्रति बिक्री भयो। दुई वटा भने बिक्री नै भएन। धेरै वर्ष पसलको बाहिर पुस्तक झुण्डिएकोले होला, कभर पेजको चित्र पनि पुरानो भई रङ्ग उडेर फुस्रो न फुस्रो भइसकेको थियो।
आफ्नो पुस्तकको अवस्था हेर्दा मलाई निकै चित्त दुख्थ्यो। केही वर्षपछि मैले बाँकी रहेको दुई प्रति कपी फिर्ता ल्याएँ। भाइले बिक्री भएको तीन प्रतिको रकम उपलब्ध गराए।
हिन्दू समाजमा एउटा प्रचलित मान्यता छ– मानिस मरेपछि ८४ जुनीमा फन्को मार्छ र फेरि मानवको चोलामा फर्किन्छ। यसको अर्थ हो– पुनर्जीवन।
हो, मेरो पहिलो उपन्यास पनि आत्महत्याको चरणबाट गुज्रियो। केही वर्षअघि गुहाटी विश्वविद्यालयमा नेपाली विषयअन्तर्गत एमएको कोर्षमा मेरो यही उपन्यास पढाई हुन थाल्यो। यसपछि मलाई पनि लाग्यो– मेरो साहित्यले पुनर्जीवन पायो।
यो मेरो मात्र कथा होइन। पूर्वाञ्चलमा हाम्रो समाजभित्र लेखकको रुपमा जन्मिने सबैको कथा हो।