देशभरि बाढीपहिरो र डुबान: थप दुईको मृत्यु, सडकहरू अवरुद्ध

आइतबारदेखिको लगातार वर्षाका कारण देशभरिका विभिन्न स्थानहरूमा बाढी, पहिरो गएका छन्। जसका कारण मंगलबार थप दुई जनाकाे ज्यान गएकाे तथा विभिन्न राजमार्ग र सडक अवरोध भएकाे प्रहरीले जनाएकाे छ। 

प्रहरीका अनुसार डडेलधुरा, गन्यापधुरा गाउँपालिका-१ भात्काडा बस्ने ३२ वर्षीय विष्णु अवस्थीको सन्ध्या फेन्सी स्टोर पसलमा सोमबार राति पहिरो जाँदा पहिरोमा च्यापिएर बिष्णुको मृत्यु भएको छ।

पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। साथै पसल पूर्णरुपमा क्षति भएको छ।​

कालिकोट, महाबै गाउँपालिका-७ राम्नी बस्ने बिष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनका छोरी १८ वर्षीया स्मृती अधिकारीको घरभित्र पुरिएर मृत्यु भएको छ। साथै उनका १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते भएकी छिन्।

​बझाङ, बित्थडचिर गाउँपालिका-२ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ। सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बित्थडचिरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ।

​कञ्चनपुर, भिमदत्त नगरपालिका-१२ ओदाली र दोधारा चादनी नगरपालिका-१० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा अविरल बर्षा कारणले माहाकाली नदीमा पानीको सतह वढ्दा करिब २ सय घर डुबानमा परेका छन्।

डुबान परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गड्डा चौकी र ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ।

घटनास्थलमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ।

सेतीमा बाढी : घरमा पानी पस्न थालेपछि हामी रातभरि सुत्न सकेनन् स्थानीय

त्यस्तै डाेटीकाे सदरमुकाम सिलगढीसहित दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै जनजीवन प्रभावित भएको छ। तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ।

त्यस्तै, वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन्। मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ।

त्यसैगरी महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताएका छन्।

प्रकाशित मिति: : 2021-10-19 12:27:00

प्रतिकृया दिनुहोस्